कानून नहुँदा ‘लिभिङ टुगेदर’ मा समस्यै समस्या

कामठाडौं । पछिल्लो समय सहर बजारमा फस्टाउँदै गएको प्रचलन हो, लिभिङ टुगेदर। प्रेम सम्बन्धमा रहेका व्यक्तिहरू विवाह नगरिकन एकैठाँउमा बस्ने, श्रीमान् श्रीमतीकै भूमिकामा रहने प्रचलन बढ्दो छ। एक अर्काबीच माया, प्रेम र सहयोग रहेसम्म उनीहरूको जीवनयापन सहज नै हुन्छ। सहर बसाइँका क्रममा हुने आर्थिक व्यवस्थापन पनि केही सजिलो हुन्छ। तर घरपरिवार तथा आफन्तलाई थाहा नदिइकन गोप्य रूपमा सम्बन्धमा रहँदा पछि भने विभिन्न समस्या देखा पर्छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार सहरी क्षेत्रमा लिभिङ टुगेदर प्रचलन बढिरहेको छ। प्रेमका नाममा सँगै बस्ने, सहमति हुदाँसम्म ठीकठाक छ, विवाद हुन थालेपछि प्रहरीकहाँ उजुरी गर्ने प्रचलन छ।
विदेशी संस्कारमा चलिरहेको यो चलन नजानिँदो तरिकाले नेपालमा सबै सहरमा पुगिसकेको छ। कानुनले सम्बोधन नगर्ने यस्तो सम्बन्धमा सहजताभन्दा समस्या धेरै आउने एसएसपी खत्री बताउँछन्। उनी भन्छन्, नेपाल प्रहरीले महिला तथा घरेलु समस्या सम्बोधन गर्न भन्दै महिला सेल नै छुट्ट्याएको छ। यो सेलमा दिनहुँ अत्यधिक भिडभाड हुने गर्छ। हरेक दिन आउने उजुरीमा लिभिङ टुगेदर, प्रेमसम्बन्ध र विवाहेत्तर सम्बन्धभित्रका समस्या बढी हुने गर्छन्।’ पछिल्लो समय सम्बन्धका बहानामा हुने आर्थिक अपराधका घटना पनि बढेका छन्। लिभिङ टुगेदरमा बसेका एकाध जोडीबाहेक धेरैजसो जोडीको सम्बन्ध टुट्ने खालका समस्या देखिएका छन्।

कानुनले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्छ

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार यस्ता उजुरीहरू प्रहरीले विवाहेत्तर सम्बन्धको रूपमा दर्ता गर्ने गरेको छ। विवाहित जोडी आए पनि अविवाहित आए पनि सम्बन्धभन्दा पनि सम्बन्धभित्र के कसुर भयो भन्ने छुट्ट्याएर कानुनी उपचार खोज्ने गरिन्छ। अविवाहित जोडीभित्रको समस्यालाई सम्बोधन गर्ने कानुन नै छैन। खास कानुन नभएका कारण व्यावहारिक रूपमा यस्ता समस्याहरूलाई विवाहेत्तर सम्बन्धभित्र राखेर समाधान खोज्ने उनले बताए। लिभिङ टुगेदरलाई मुलुकको कानुनले औपचारिक रूपमा मान्यता दिएको छैन। सँगै बस्न हँुदैन भनेर अवैध पनि मानेको छैन। तर, लिभिङ टुगेदरमा बसेका जोडीहरू घरेलु हिंसा, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती करणी, ज्यानमार्ने उद्योग, अंगभंग, आर्थिक अपराधलगायतका उजुरी लिएर प्रहरी कार्यालय आउने गर्छन्।

काठमाडौं परिसरका प्रवक्ता अधिकारी भन्छन्, ‘यस्तो घटनामा महिलामात्रै हैन, पुरुषहरू पनि समस्यामा परेको भन्दै उजुरी लिएर आउने गरेका छन्’। उनका अनुसार महिलाहरू शारीरिक र मानसिक समस्या लिएर बढी आउने तथा पुरुषहरू आर्थिक नोक्सानी, सम्पत्तिका समस्यालगायतमा अल्झने गरेका छन्। जुनसुकै समस्या लिएर आए पनि समस्याअनुसारको अपराधमा अनुसन्धान गरिन्छ। घटनाको व्यावहारिक रूपमा अनुसन्धान गर्दै प्रहरीले पीडित पक्ष जो हो उसलाई न्याय हुने गरी कारबाही गरिने अधिकारीले बताए।

प्रहरीका अनुसार लिभिङ टुगेदरमा बसेकै कारण आएका समस्या समाधानका लागि प्रहरीले अहिले मुलुकी अपराध संहिताको अनुसूची १ अनुसार अनुसन्धान अगाडि बढाउँछ। यस्तो सम्बन्धबाट बच्चाको जन्म भएमा मुलुकी देवानी संहिताको दफा ७४ अनुसार स्वतः विवाह भएको मानिने कानुनी व्यवस्था छ। कानुनी दफाले सम्बोधन गर्ने मुद्दामात्रै प्रहरीले जाहेरी लिने गर्छ। यस्ता घटनामा धेरैजसो महिला नै पीडित हुने भएकाले संवेदनशील भएर हेर्ने गरेको र महिलाको पक्षमा शून्य सहनशीलता नारा नै बनाएको छ। काठमाडौं परिसरका अनुसार आव २०८०÷८१ मा चार सयभन्दा बढी यस्ता खालका उजुरी दर्ता भएका थिए। ५० प्रतिशत उजुरीमा प्रहरीले मिलापत्र गराएर समस्या समाधान गरेको थियो। गम्भीर प्रकृतिका घटनामा लिखित उजुरी नै लिएर कानुनी कारबाहीको लागि मुद्दा दर्ता गरिन्छ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने समस्या पनि प्रहरीमा अत्यधिक रूपमा आउने गर्छ। सामाजिक रूपमा जातीय अवस्था नमिलेको तर लामो समयदेखि सहरमा लिभिङ टुगेदरमा बसेको घटनामा धेरै समस्या उजुरी आउने गर्छ। यस्तो समस्यालाई कानुनले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने तत्कालै जरुरी छ।

अधिवक्ता प्रियहरि भण्डारीले लिभिङ टुगेदरमा बस्ने जोडी अनेक समस्या लिएर आउने गरेको बताए। उनी भन्छन्, ‘कसैलाई नसोधी एकल निर्णय गरेर सँगै बस्दा नैतिक तथा कानुनी बन्धन नहुने हुँदा सम्बन्धमा जिम्मेवारी नभएको देखिन्छ। सहरी क्षेत्रमा यस्तो सम्बन्धमा बस्ने प्रचलन धेरै देखिएको हुँदा कानुन बनाएर सम्बोधन गर्नुपर्छ।’ यसरी बस्ने युवायुवती श्रीमान्, श्रीमतीकै भूमिकामा हुने हुँदा उनीहरूबीच आउने समस्या पनि कानुनतः सम्बोधन हुन जरुरी छ। बिहे नगरी गर्भवती भएकी युवतीको कानुनी दायित्व के हुने ? यसरी जन्मिएका बच्चाहरूको अधिकार के कसो हुने रु भन्ने स्पष्ट व्यवस्था हुन जरुरी रहेको भण्डारी बताउँछन्।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनाली आधुनिक हुने बहानामा मौलाउँदै गएको लिभिङ टुगेदर प्रचलन नेपाली समाजले स्वीकार नगर्ने बताए। घरपरिवार, आफन्त र कानुनले समेत स्वीकार नगरेको सम्बन्धमा सहजताभन्दा समस्या धेरै देखिन्छ। क्षणभरको आत्मीयता र प्रेमको बहानामा असुरक्षित सम्बन्धमा बस्दा युवायुवती नै समस्यामा पर्ने गरेका छन्। उनी भन्छन्, ‘सम्बन्धमा नै बस्ने भए घर परिवारमा लुकाउनु हुन्न। यसले गर्दा युवायुवती दुवैमा नैतिक जिम्मेवारीसमेत पर्ने गर्छ।’ समस्या परेको अवस्थामा एक अर्कालाई बदनाम गर्ने, गराउने र सामाजिक बदनामी गर्ने प्रचलन बढ्दै गएको एसएसपी मैनालीले बताए।