फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने : मुख्यमन्त्री अधिकारी

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् । मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गरे ।

फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्दै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र आफूले विश्वासको मत पाउनेमा कुनै शङ्का नरहेको पनि उनको भनाइ रहेको छ ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको पहिलो गण्डकी सरकारले थालेका अधुरा कामलाई आफूले पूर्णता दिने भन्दै ‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’ भन्ने मूल नारालाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले अहोरात्र खटेर काम गर्ने अधिकारीको भनाई छ ।