ठमेल २४ सै घण्टा खुल्ला, कति सहज होला सुरक्षा चुनौती

काठमाडौं । काठमाडौको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको ठमेल क्षेत्र २०८१ बैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने बजार शुभारम्भ गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल बजार २४ सै घण्टा खुल्ला हुने गरी शुभारम्भ गरे । ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पु¥याउनका लागि २४सै घण्टा बजार खुला गरिएको बताइएको छ ।
गृहमन्त्री लामिछानेले २४ सै घण्टा ठमेल र दरबारमार्ग क्षेत्र खुल्ला हुँदा सुरक्षामा कहीँकतै कमी नहुने त बताए । तर विगतको इतिहासलाई हेर्ने हो भने ठमेलको हुने विभिन्न क्रियाकलापका कारण असुरक्षित भएको भन्दै विगतमा स्थानीयहरुले नै १० बजेपछि बजार वन्द गर्न लगाएका थिए । कोभिड १९ पछि त बजार करिव करीव रातीको समयमा ठप्प नै भएको थियो । अहिले भने फेरि अर्थतन्त्र कमजोर भएको अवस्थामा पर्यटकीय क्षेत्र ठमेललाई २४ सै घण्टा खुल्ला गर्ने कार्य भएको छ । त्यसले बजार चलायामान हुन्छ कि विकृति चलायामान हुन्छ भन्ने शका गर्न थालिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २४सै घण्टा ठमेल र दरबारमार्गलाई सञ्चालन गरेर विश्व जगतलाई सकारात्मक सन्देश दिन खोजिएको बताए । उनले उक्त अभियानले देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उनले २४सै घण्टा बजार सञ्चालनमा ल्याउँदा स्थानीयका समस्या तथा सुरक्षा व्यवस्थाका बारेमा बुझ्नुपर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि लागु हुने गरी २४सै घण्टा सञ्चालनका लागि आचारसंहिता निर्माण गरी लागू गरेको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्न सुरु गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए ।

‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहे पनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला भएको छ’, प्रजिअ बस्नेतले भने । उनका अनुसार ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित सङ्केत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारीसाधनको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए । उनका अनुसार पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ । तर यसले सुरक्षा चुनौती भने बढेको धेरै स्थानीयको गुनासो देखिन्छ ।