भारतकाे केरलामा देखिएको निपा भाइरसको जाेखिम नेपालमा पनि

काठमाडौं । छिमेकी राष्ट्र भारतकाे केरलामा देखिएको निपा भाइरसको संक्रमण नेपालमा फैलिने जाेखिम रहेकाले विभिन्न निकायहरु सर्तक रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

बिहीबार मन्त्रालयले सूचना जारी गर्दै संक्रमण फैलिन नदिनका लागि सबै निकायहरु सक्रिय हुँदै आइरहेको जनाएको हो।

सम्बन्धित महामारी न्यूनीकरणका लागि कुनै पनि व्यक्तिमा रोगको यकिन निदान नहुँदै तीव्र रुपमा बिरामीको अवस्था बिग्रँदै गएमा वा मृत्यु भएका बिरामीहरुको समयमै अनुसन्धानका लागि Early Warning, Alert and Response System (EWARS) रिर्पोटिङ गर्नुका साथै अस्पताललाई सूचना दिन विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ उक्त किसिमको अवस्था तहाँ स्वास्थ्य संस्थामा देखिएमा बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउनु हुन अनुरोध छ।’

भारतको केरलामा निपा भाइरसको संक्रमणबाट दुई दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

निपा भाइरसका लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो भएकाले यसको पहिचान गर्न कठिनाइ रहेको विज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार निपा भाइरस लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाटी दुख्ने र स्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखा पर्छन्।