एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु :भीम रावल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटिका संयोजक भीमबहादुर रावलले एमालेको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।

मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले एमालेलाई जीवन्त राख्न आफू त्याग गर्न तयार रहेको बताए।

तर कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम नराम्रो हुने बताए। ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ,’ रावलले भने,‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ।’

उनले सम्पूर्ण कार्यकर्तालाई एकताका पक्षमा उभिनसमेत आग्रह गरे। यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नु पर्नेमा उनले जोड दिए। उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए।

रावल आज नै धनगढी पुगेका हुन्।