अमेरिकाद्वारा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको बचाउ

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको बचाउ गरेका छन् ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताको क्रममा देखिएको अस्तव्यस्त अवस्थाबारे संसदमा भएको सुनुवाईको क्रममा विदेशमन्त्री ब्लिंकेनले बचाउ गरेका हुन् ।

अमेरिका अगस्ट ३१ मा पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको हो । तर अझै पनि अमेरिकी र अमेरिकाको अभियानमा सहयोग गरेकाहरु अफगानिस्तानमै छुटेको भन्दै आलोचना हुँदै आएको छ ।

संसदीय सुनुवाईको क्रममा रिपब्लिकनहरुले अफगानिस्तानबाट अमेरिकाको फिर्तीलाई लज्जास्पद हार भनेका छन् । डेमोक्र्याटहरुले भने अमेरिका र तालिबानबिच डोनाल्ड ट्रम्प प्रशासनले गरेको सम्झौतालाई केन्द्रमा राखेका छन् ।

ब्लिंकेनले अफगानिस्तानमा थप समय बस्नुको कुनै सकारात्मक पक्ष नरहेको बताए । झण्डै २० वर्षको युद्धको क्रममा अफगानिस्तानमा ६ हजार भन्दा बढी अमेरिकी र एक लाख भन्दा बढी अफगानको ज्यान गएको छ ।

तालिबानले अहिले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरी सत्ता सञ्चालन गरिरहेको छ।