प्रतिगमनविरुद्ध संघर्ष सकिएको छैन : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिगमनविरुद्ध संघर्षको आवश्यकता कायमै रहेको जनाएको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले देशमा अझै प्रतिगमनको खतरा कायम रहेको निष्कर्ष निकाल्दै यसविरुद्ध संघर्षको आवश्यकता पनि कायम रहेको ठहर गरेको हो ।

पुनस्र्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको भन्दै राष्ट्रिय जनमोर्चाले प्रतिगमनविरुद्धको संघर्षमा पाँच दलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता औंल्याएको छ ।

‘मुलुकलाई प्रतिगमनमा धकेल्नका लागि पाँच दलीय गठबन्धनलाई टुक्रयाउनका लागि विभिन्न षडयन्त्र भइरहेका छन्,’ बैठकपछि सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसतर्फ सचेत हुनुपर्ने आवश्यकता छ ।’

वर्तमान सरकारद्वारा देश र जनताका सबै समस्या समाधान हुनेछन् भन्ने विश्वास नभएको पनि राष्ट्रिय जनमोर्चाले प्रस्ट पारेको छ । ‘प्रतिगमनका विरुद्ध हामीले वर्तमान सरकारलाई समर्थन गरेका हौँ । यद्यपि हाम्रो समर्थन निःशर्त नभएर सशर्त नै हो,’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेका राम्रो कामलाई समर्थन र गलत कामको विरोध गर्ने नीति अपनाएका छौँ ।’

सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेको, महँगी, भ्रष्टाचार दिनानुदिन बढेको र त्यसलाई नियन्त्रण गर्ने सवालमा सरकारले ध्यान नदिएको कारण सरकारप्रति जनताको अविश्वास बढ्दै गएको राष्ट्रिय जनमोर्चाको ठहर छ ।