गोरेको वकिलको बहस : हचुवाको भरमा मुद्दा चलाइयो श्रीमान् !

मोरङ । बेपत्ता अवस्थामा रहेको ३८ क्विन्टल सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भोजराज भण्डारीसहित १४ जना प्रतिवादीको पक्षमा जिल्ला अदालत मोरङमा बहस भएको छ।

बिहीबार भएको बहसका क्रममा मुद्दाका चर्चित अभियुक्तमध्येका भोजे मामा भनेर चिनिएका भण्डारीको प्रतिरक्षामा अधिवक्ताद्वय देवेन्द्र कोइराला र विकास थापाले बहस गरेका थिए। घटनासँगै अदालतमा मुद्दा दर्ता भएबाटै बेपत्ता अवस्थामा रहेका भण्डारी ३ महिनाअघि मात्र अदालतमा हाजिर भएका हुन्। सोही क्रममा अदालतको आदेशसँगै उनी थुनामा छन्।

प्रहरी अनुसन्धानका क्रममा भण्डारीलाई तस्करी भएका सुन घरमा राखेर अन्यत्र पठाउने सन्दर्भमा संलग्नता देखिएको थियो। भण्डारीसँगै बिहीबार घटनाका अर्का चर्चित अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीकी श्रीमती नर्वदा खरेल निरुको पक्षमा अधिवक्ता थापाले बहस गरेका थिए।

त्यसैगरी, सुनको मुख्य लगानीकर्ता भनेर देखिएका भुजुङ गुरुङको प्रतिरक्षामा भरतबहादुर थापा, सागर घिमिरे र देवीबहादुर घिमिरेले बहस गरेका थिए। घटनापछिको अनुसन्धानका क्रममा गुरुङ दुबईबाट नेपालमा हुने सुन तस्करीको मुख्य लगानीकर्ता भएको पत्ता लागेको थियो ।

त्यसैगरी, जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार बिहीबार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बिहीबार बहस गरेका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ताद्वय सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ता भरतबहादुर थापा, सागर घिमिरे, देवीबहादुर घिमिरे, हेमराज पन्त, ज्ञानेन्द्र थापा, वासुदेव ज्ञवाली, सीताराम राई, गणेशप्रसाद लुइँटेल, बलराम सुवेदी, प्रवीण सुवेदी, डिल्लीबहादुर कार्की, विकास थापा र देवेन्द्र कोइरालाले प्रतिवादीको प्रतिरक्षा बहस गरेका थिए।

उनीहरूले प्रतिवादी तुलाराम थारू, ठाकुरप्रसाद ढुंगाना, गुप्तलाल भुसाल, मदन सिलवाल, बालकृष्ण खड्का, हेमन्त गौतम, लाक्पा शेर्पा, राजन कुमार, दोराम खत्री र महावीरप्रसाद गोल्यानका पक्षमा बहस गरेको सूचना अधिकारी धमलाले जानकारी दिए।

बिहीबारको बहसमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले महावीरप्रसाद गोल्यानको प्रतिरक्षामा बहस गरे। तस्करी गरेर झिकाइएको सुन गोरेको समूहबाट लिएर भारततिर पठाउने कार्यमा गोल्यानको संलग्नता देखिएको छ। त्यसैगरी, गुप्तलाल भुसाल दुवईबाट आपराधिक क्रियाकलाप गरिरहेका व्यक्ति भएको बताइएको छ। गोरेसँगको सहकार्यमा नेपालमा सुन तस्करी गर्ने धन्दामा भुसालको संलग्नता यकिन भएको बताइएको छ।

बहसका क्रममा कानुन व्यवसायीले सुन तस्करी र सनम हत्यामा प्रतिवादीको संलग्नता नदेखिएको जिकिर गरेका छन्। उनीहरूले प्रमाणका रूपमा पेस गर्नुपर्ने सुन बेपत्ता अवस्थामा रहेको हुँदा हचुवाको भरमा मुद्दा चलाइएको बताएका छन्। प्रतिवादीले मुद्दामा सफाइ पाउनुपर्ने कानुन व्यवसायीको भनाइ छ।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दर्ता गरेको थियो। १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ।