‘बालुवाटारमा बसेका शेरबहादुरजीले सुन्ने गरेर जय नेपाल भनौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कालो झन्डा  देखाउनेहरूसँग आफू नडराउने बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा ११ दिनदेखि जारी अनशन कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका कोइरालासहितको टोलीलाई कालो झन्डा देखाइएको थियो । आइतबार कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कालो झन्डासँग कोही नडराउने बताए ।

नेता कोइरालाले आसन्न १४औँ महाधिवेशनबाट कस्तो कांग्रेस निर्माण गर्ने भनेर निर्णय गर्ने अधिकार कार्यकर्ताहरूको भएको बताए । नेतृत्व निर्माणमा गम्भीर चुक भए फेरि पनि कांग्रेस कमजोर हुने कोइरालाको तर्क थियो ।

“कांग्रेस बलियो बनाउने तपाईंहरूको हातमा छ । चुक भए कांग्रेस फेरि कमजोर भएर जान्छ,” उनले भने ।

नेता कोइरालाले पार्टीभित्रको आन्तिरक लोकतन्त्र संकटमा पुगेको बताए । लोकतन्त्रमा विधि–विधान र नियमलाई टेकेर हिँड्न सके मात्र व्यवस्था फस्टाउने भन्दै उनले कमजोर भएको आन्तरिक लोकतन्त्र सुदृढ गराउन लाग्नुपर्ने बताए ।

डडेलधुराको आवाज केन्द्रले नसुकेको पनि उनको तर्क थियो । “सबैले अन्त्यमा जय नेपाल भनौँ, बालुवाटारमा बसेका शेरबहादुरजीले सुन्ने गरेर फेरि भनौँ,” उनले भने ।