निर्वाचन प्रणाली खर्चिलो भयो, परिवर्तन गरौं : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकोले परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, ‘खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गरौँ । भ्रष्टाचारको मुहान नै बन्द गरौँ। निर्वाचन कानुनमा फेरबदल गरौँ।’

यस्तै उनले कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न नयाँ पार्टी निर्माण गरी अघि बढेको बताए। महाधिवेशनका निष्कर्ष र जबजका मान्यतालाई कुल्चने, गुटवाद, व्यक्तिवाद, र सर्वसत्तावादले पार्टीको सैद्धान्तिक तथा वैचारिक आधारलाई समाप्त गर्न खोजेकोले बाध्य भएर विद्रोह गर्नुपरेको उनले बताए।

पार्टीको तीन महिने कार्ययोजनालाई विशेष परीक्षाको रुपमा लिइ काम गर्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘पार्टीको तीन महिने कार्ययोजनालाई विशेष परिक्षाको रुपमा लिइ काम गर्न, सबैले व्यक्तिगत पार्टी जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्नेछ। राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको भूमिका बढिरहेको छ। एमालेको साख दिन प्रतिदिन घट्दै गएको छ। हामीले गठबन्धन निर्माणमा प्रभावकारी भूमिका खेलेका छौँ। संघीय र प्रदेश सरकारमा यथोचित नेतृत्व गरेका छौँ।’

४० वर्षमुनिका युवालाई पार्टीमा संगठित गर्न विशेष ध्यान दिनुपर्नेमा नेता नेपालले जोड दिए। उनले आमागी निर्वाचनको तयारीमा जुट्नु पर्ने नेता नेपालले बताए।