काँग्रेस महाधिवशेन : मतदान प्रक्रिया राती ९ बजेसम्मका लागि थप


काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले केन्द्रीय पदाधिकारीका लागि आज शुरु भएको मतदान कार्यक्रम राती ९ बजेसम्मका लागि समय थप गरिएको छ । विहान ८ बजे शुरु गर्ने भनिएको मतदान प्रक्रिया करीव ११ बजेपछि मात्र शुरु भएको थियो । अहिलेसम्म खसेको मतका आधारमा मतदानका लागि समय नपुग्ने भन्दै राती ९ बजेसम्मलाई मतदानको समय थपिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न ४५ मिनेटसम्म समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । दुई जना निर्विरोध भएका छन् ।

१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।