हुम्लामा प्याजको मूल्य २८० , मुलुकमा महंगीको कुरा गरी साध्य छ ?

सिमकोट । हिउँदे याम लागेसँगै हिमाली जिल्ला हुम्लामा तरकारीको भाउ आकाशिएको छ। हिउँदमा जिल्लामा तरकारी उत्पादन नहुने र नेपालगंजबाट हवाईजहाजमा ढुवानी भएर आएको तरकारी भएकाले उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको हो।

स्थानीय उपभोक्ता पेमा लामाले मङ्सिर महिना लागेसँगै तरकारीको मूल्य बृद्धि भएको बताइन्। उनले एक केजी प्याजको मूल्य दुई सय असी पुगेको जानकारी गरिन्। जबकी हुम्लामा उत्पादन भएको प्याजको मूल्य प्रतिकेजी एक सय रुपैयाँ पर्थ्यो।

बजारमा हरियो तरकारीको मूल्य छोइनसक्नु भएको बताउँदै उनले तर दैनिक जीवन चलाउन महँगो मूल्यको तरकारी खरिद गर्नै पर्ने बाध्यता रहेको गुनासो सुनाइन्।

कात्तिक महिनापछि हुम्ला हरियो तरकारी उत्पादन चिसोको कारण हुँदैन। अवधिमा नेपालगंजबाट व्यापारीहरुले हवाई मार्गबाट ढुवानी गरेर ल्याएको तरकारी मात्र प्रयोग गर्नुपर्ने बाध्यता उपभोक्ताहरुसँग रहेको छ।

पाँच वर्षदेखि हरियो तरकारी बिक्री गर्दै आएकी शान्ति जनरल स्टोरकी सुमित्रादेवी थापाले प्रतिकेजी हवाई जहाजमा एक सय पच्चीस रुपियाँ ढुवानी तिरेर ल्याउनु परेपछि तरकारीको मूल्यबृद्धि भएको बताइन्।

उनले हाल काउली प्रतिकेजी २५० , हरियो सिमी २५०, प्याज २८०, खुर्सानी ४००, भेन्टा २५०, गोलभेंडा तीन सय, लसुन ४५० रुपियाँमा बिक्री भइरहेको बताइन्।

हुम्लामा हिउँदमा भण्डारण गरेको आलु मात्र पाउने र त्यसको पनि प्रतिकेजी पचास रुपैयाँ पर्ने गरेको छ। यसबाट हुम्लावासीको भान्सा महँगिएको छ।