माओवादी केन्द्रको अधिवशेन : आज प्रचण्डको राजीतिक प्रस्तवामाथि छलफल हुने

काठमाडौंं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत आज बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल हुने भएको छ । त्यसका लागि माओवादी केन्द्रले बन्त्रसत्रमा सोमबार २५ वटा समूह बनाएको थियो ।

प्रचण्डको प्रतिवेदनमाथि मंगलवार सामूहिक छलफल गर्ने र बुधवार बन्दसत्रमा छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ ।

छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ ।

सोमवारको बैठकमा प्रतिवेदन पेश गर्दै प्रचण्डले समाजवादी क्रान्तिको लागि नयाँ विचार निर्माण गर्नुपर्ने बताएका थिए ।

शान्ति प्रक्रियामा आएपछि वैचारिक र सांगठानिक रुपमा पार्टी कमजोर हुँदा प्रतिगामी तत्त्वले टाउको उठाउन खोजेको निष्कर्ष प्रचण्डको प्रतिवेदनमा छ ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि जनतामा जानुपर्ने प्रस्ताव गरेका छन् ।

नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको प्रतिवेदनमा पार्टी जीवनमा समस्या रहेको र त्यसलाई समाधान गर्न महाधिवेशनले मार्गदर्शन गर्नुपर्ने निष्कर्ष रहेको बताए ।

आइतवार शुरू भएको माओवादीको महाधिवेशनअन्तर्गत बन्दसत्रको पहिलो दिन नेता देव गुरुङले पदाधिकारीको संख्या बढाउनेसम्बन्धी विधान संशोधन प्रस्ताव पनि पेश गरेका छन् ।

नयाँ नेतृत्व चयन गर्दै माओवादीको महाधिवेशन पुस १५ गते सम्पन्न गर्ने माओवादीको तयारी छ ।