गैरकानूनी ढंगबाट बतास समूहले निर्माण गरेको नारायणहिटीको संरचना मन्त्री आफैले भत्काउने चेतावनी

काठमाडौं । पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले आईतबारसम्म बतास समूहले आफूले बनाएका भौतिक संरचना नभत्काए आफै भत्काउने चेतावनी दिएका छन् । नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन चर्को दवाव परेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएर बतास समूहलाई आफै भत्काउन भनेका छन् ।

‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेको भनाइ छ ।

मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न छानविन मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् ।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ ।