एमसीसीमा सहमति जुटाउने तीन दलका नेतावीच छलफल


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा राष्ट्रिय सहमति जुटाउने सत्ता साझेदार एवं विपक्षी दलका नेतासँग छलफल गरेका छन् ।प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टाभन्दा बढी छलफल गरेका हुन् ।

बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रधानमन्त्रीले एमसीसीमा सहयोग गर्न शीर्ष नेताहरुलाई अपिल गरेका थिए । ‘प्रधानमन्त्रीले एमसीसीलगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्नुहोस् भन्नुभयो,’ पोखरेलले भने ।

दोस्रोपटकको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि सत्ताबाट बाहिरिएका अध्यक्ष ओली ७ महिनापछि बालुवाटार पुगेर शीर्ष नेताको बैठकमा सहभागिता भएका थिए ।

महासचिव पोखरेलले प्रधानमन्त्री प्रणालीमा सत्तारुढ पार्टीबीच फरक फरक धारणा आउनु राम्रो नभएको भन्दै एमसीसीमा सामूहिक धारणा बनाउन सुझाव दिएको जानकारी दिए ।

पोखरेलले एमाले कुनै पनि विषयमा अनिर्णीत नहुने बताउँदै संसद सञ्चालन भएको अवस्थामा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्ने बताए ।

बैठकमा प्रधानमन्त्री देउवा, अध्यक्ष ओली र दाहालसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव पोखरेल सहभागी थिए ।