रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो।

पश्चिमदेखि पूर्व दिशामा रोकिराखेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ। 

दुर्घटनामा परि गम्भीर घाइते दुई जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना मृत्यु हुनेमा बुटवल १३ का अन्दाजी २७ र २८ वर्षका सविन चौधरी, सोही स्थानका,  २८ बर्षकै गोविन्द चौधरी र नवीन श्रेष्ठ रहेका छन्। 

त्यस्तै, सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिस जिसी सामान्य घाइते भएका छन्। 

ट्रक चालक फरार रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।