किन गरे कमल थापाले राप्रपा परित्यागको घोषणा

काठमाडौं । पञ्चायत, प्रजातन्त्र कालमा मात्र होइन राजतन्त्र हुँदै गणतन्त्रमा समेत निकै नै रजगज गरेका कमल थापाले मंगलबार साइत जुराएर राप्रपा परित्यागको घोषणा गरे । केही समय अघि मात्र राप्रपाको महाधिबेशनमा अध्यक्ष पदमा लज्जास्पद हार खेप्नु परेपछि थापाले पूर्व राजा ज्ञानेन्द्रलाई सत्तोसराप नै गरे ।

उनले आफूलाई अध्यक्ष पदमा हराउनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह एवं निर्मल निवासको पूर्ण रुपमा हस्तक्षेप भएको दावी गर्दै निर्मल निवासको हस्तक्षेको भत्र्सना गर्दै राम्रै विष वमन गरे । लामो समयसम्म राप्रपाको नेतृत्वमा रहेर सत्ताको स्वादमा पल्किएका थापाले अध्यक्ष पदलाई निकै नै दुरुपयोग गरे । राप्रपा पार्टी कमल थापा बाहेक अरुले हाँक्नै नसक्ने र आफू मात्र सर्वेसर्वा भएको जस्तै दम्भ पालेका थापाले राजावादीहरुलाई पनि छिन्नभिन्न पार्ने प्रयास गरेका थिए ।

हिन्दुहरुको नाममा भारत लगायतका देशहरुबाट राम्रै आर्थिक लाभ पनि लिन भ्याएका थिए । दरवारको नाममा आफ्नो स्वार्थ पूर्ति गर्न पल्किएका थापाले दरवारसँग पनि फाइदा लिने र दरबारको वा पूर्व राजासँगको नाममा निकै नै स्वार्थ पूरा गर्दै गएका थिए ।

बाहिर हिन्दुराष्ट्र एवं राजतन्त्रको वकालत गरे जस्तो गरी जनता एवं कार्यकर्ताहरुमा भ्रम सिर्जना गरी पूर्व राजालाई सँधै बार्गेनिङ्ग गर्दै आईरहे । जुन निर्मल निवास र वास्तविक राजतन्त्रवादीहरुलाई कमल थापाको द्धेध चरित्र मन परिरहेको थिएन । निर्मल निवास कमल थापाको भाषणमा खुम्चिएर बस्नु पर्ने वाध्यता पनि थियो किनकी राजतन्त्रको वकालत राप्रपा बाहेक अरुले गर्ने ठाउँ नै थिए । त्यसैको फाइदा संविधानसभाको निर्वाचनदेखि पछिल्लो समय राप्रपाको महाधिवशेनसम्म पनि कमल थापाले उठाई नै रहे ।

कमल थापाको चरित्र पूर्व राजालाई मन नपरेपनि उनका निजी सचिवका रुपमा रहेका सागर तिमिल्सेनाहरु त्यसमा नै रमाईरहेका थिए । संघीय संरचना पश्चात जनतामा निराशा पैदा भईरहँदा पनि कमल थापाको हुकुमी शैलीका कारण पूर्वराजा र राजपरिवारसँगको सम्वन्ध अझ नराम्रो बनाउने एउटा समूह सँधै नै क्रियाशील रहेको थियो जसको नेतृत्व थापाले नै गर्दै आईरहेको थिए ।
हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गरे जस्तो गरी बार्गेनिङ्ग गर्दै रमाउँदै आईरहेका थापाले राजावादी सञ्चारकर्मीहरुलाई पनि तितरवितर पार्दै आए । गणतन्त्र प्राप्तिपछिको समयमा प्रष्ट रुपमा राजावादीहरु विरुद्ध राजनीतिक दलहरुले विशेष गरी तात्कालिन माओवादीले निशाना बनाउँदा पनि कमल थापाले नेतृत्व गरेको राप्रपाले संरक्षण गर्न सकेको थिएन । बरु कलम थापा सत्ताका लागि जस्तो सुकै हतकण्डा अपनाएर भएपनि शक्तिमा नै बस्न मन पराउन थाले । परिणाम वास्तविक राजावादीहरु भन्दा नक्कली राजावादीहरुको बर्चश्व कमल थापाको पछि पछि भए ।

कमल थापाको चरित्र राम्रैसँग बुझेको निर्मल निवासले मौन बस्ने र समय कुर्ने बाहेक केही पनि गर्न सकेको थिएन । कमल थापा कै भनाईलाई मान्ने हो भने बरु निर्मल निवास कलम थापालाई करोडौं रुपैयाँ निर्वाचनका लागि सहयोग गर्दै गयो । निर्मल निवास कमल थापाको दुहुनो गाई जस्तै भयो जुन पूर्व राजा र निर्मल निवासलाई सह्य थिएन । राप्रपाको महाधिवशेन त्यसका लागि उपयुक्त समय बन्यो । निर्मल निवास र वास्तविक राजावादीहरुका लागि ।
राप्रपाको महाधिवेशनमा कमल थापाले आफू सर्वसम्मत हुने कुरामा निश्चित थिए ।

अध्यक्ष पदका लागि पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनीहरु कसैले पनि दावी नगर्ने भएकाले अध्यक्ष पदमा निकै मोह वोकेर बसेका थापाले एकलौटी हुन्छ भन्नेमा ढुक्क थिए । तर समयले कोल्टे फेरिदियो । थापाका विरुद्ध राजेन्द्र लिङदेन अध्यक्षका उम्मेदवार भईदिए । महाधिवेशनमा थापाले प्रकाशचन्द्र लोहनीहरुका समर्थन आफूलाई भएको भन्दै केही ट्वीट केही नक्कली विज्ञप्ति पनि तयार गरे । त्यत्ति गर्दा पनि कमल थापाले लिङदेनलाई असफल बनाउन सकेनन् बरु महाधिवेशनमा लज्जास्पद हार व्यहोरे ।

राप्रपाको अध्यक्ष पदमा हारे लगत्तै थापा सम्पूर्ण बल लगाएर पूर्व राजा र निर्मल निवासको विपक्षमा उभिन थाले । केही सञ्चार माध्यम उनका लागि प्रयोग पनि भए । थापाले धेरै सञ्चार माध्यममा पूर्व राजा विरुद्ध विष वमन गर्न थालेपछि सामाजिक सञ्जालमा उनका विरुद्ध निकै आक्रोश पनि पोखिए । आफूले पद पाउदासम्म पूर्वराजा र निर्मल निवास ठिक भन्दै हिडेका थापा अध्यक्ष पदबाट बाहिरिएसँग त्यही निर्मल निवासको विपक्षमा उभिन थाले ।

राजसंस्था कै कारण आजको अवस्थामा आईपुगेका थापा पदमुक्त पछिको पीडालाई आत्मसात् गर्न नसकेका कारण र भड्किएको मनलाई सहि मार्गमा हिडाउन नसकेपछि राप्रपाबाट अलग हुन सक्ने चेतावनी दिँदै आईरहेका पनि थिए । राप्रपामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भन्दै आइरहेका थापाले कार्यकर्ता, निर्मल निवास र हिन्दु धर्मका नाममा बार्गेनिङ्ग गर्नका लागि पद नभएकै कारण काठमाडौंमा बसेर होइन हेटौडा पुगेर परित्यागको घोषणा गरे ।
पदमुक्त भएका थापाले आफ्नो पीडालाई पोख्ने ठाउँ नपाएको, आफ्नो स्वार्थ गर्ने थलो नभएको र फेरि पनि हिन्दुका नाममा स्वार्थ पूरा गर्न सकिन्छ भन्ने सोचले पार्टी त्याग गरेका हुन् ।