भन्सारमा रोकिएन ‘सेटिङ’ धन्दा : नक्कली बिल बनाउन कर्मचारीकै संलग्नता

काठमाडौं– भन्सार कार्यालयका कर्मचारी नै सेटिङमा लाग्दा राजस्व चुहावट नियन्त्रण गर्ने कार्य चुनौतीपूर्ण बनेको छ । कर्मचारीले व्यापारी र तस्करसँग मिलेमतो गरी राजस्व चुहावट गरिरहेको खुलेको हो । कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट नियन्त्रणभन्दा झन् बढ्दै गएको छ ।

सेटिङमा नक्कली जिएसटी (गुड्स एण्ड सर्भिस ट्याक्स) बिल बनाएर भन्सार कागजात मिलाउने, कम राजस्व तिरेर बढी सामान लैजाने र रातारात तस्करका सामान भन्सार छुटाउने अवैध कार्यमा भन्सारका कर्मचारीको संलग्नना हुने तथ्य खुलेको छ । नेपालको सीमावर्ती भारतीय नाका भद्रपुरको मेचीनदीपारिबाट रातारात लत्ताकपडा, कस्मेटिक, खाद्यान्न र माछालगायतका सामग्रीराजस्व छलेर नेपाल भित्र्याउँदै आएको पाइएको छ । भन्सारमा आयात गर्ने वस्तुहरूका लागि जिएसटीबिल अनिवार्य हुने भएकाले व्यापारी तथा तस्करले नक्कली जिएसटीबिल बनाउने गरेका हुन् ।

जिएसटीबिल र भारतीय बिक्रेताको नक्कली बिलसमेत भन्सार कार्यालयकै छेउमा खुलेआम बनाउने र उक्त बिलपाँच सयदेखि एकहजार रूपैयाँमा किनबेच हुने गरेको भेटिएको छ ।यसरी नक्कली जिएसटी बिललगायतका आवश्यक भन्सार कागजात पुर्‍याएपछि व्यापारी र तस्करले भन्सारका कर्मचारीलाई घुस खुवाएर कम राजस्वतिरी धेरै परिमाणमा सामान लैजाने गरेका छन् ।

भन्सारका कर्मचारीलाई घुस रकम लेनदेन गर्न र आवश्यक कागजात मिलाउन जाँचपास तथा व्यापार सहजीकरण शाखाभित्र गोप्य कोठासमेत बनाइएको स्रोतले बताएको छ । जसमा भन्सारका कर्मचारी, व्यापारी र तस्करबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ । त्यही कोठामा अवैध लेनदेन हुने गरेको सम्बन्धित भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् ।

सीमानाका बन्द भएपछि अहिले भन्सारभित्रबाटै राजस्व चुहावटको धन्दा मिलेमतोमा हुने गरेको छ। भन्सारका कर्मचारी र सम्बन्धित व्यापारीहरूको सेटिङमा मुलुकको प्रमुख नाकासहित अन्य नाकाबाट अवैधरूपमा सामान नेपाल भित्र्याइ राजस्व छली गर्ने धन्दा झन् मौलाउँदै गएको छ ।अवैध कार्यमा कर्मचारीहरूको संलग्नता बढ्दै जानु यसको मुख्य कारण रहेको देखिन्छ ।

विभिन्न समयमा बढी मात्रामा वीरगञ्ज भन्सारमार्फत् भित्रिएका दुई ट्रक हार्डवेयर सामान प्रहरीले नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभागको पथलैयास्थित क्षेत्रीय कार्यालयमा चेकजाँच गराउँदा ७० प्रतिशत वस्तुको राजस्व नतिरेको फेला परेसँगै भन्सार नाकाबाट न्यून विजकीकरण गरी नेपालमा सामान भित्रिँदै आएको प्रमाण भेटिएको हो ।व्यवसायीले१३ लाख ४६ हजार जरिवानासहित झण्डै २७ लाख रूपैयाँ धरौटी राखेर हार्डवेयर बोकेका ना२ख ९५७४ र ना२ख ६७५४ नम्बरको ट्रक गत वर्षको माघ पहिलो साता छुटाएका थिए ।

न्यून विजकीकरण र राजस्व छलीमा संलग्न कर्मचारी तथा वस्तु घोषणा गर्ने एजेन्टमाथि कारबाही नहुँदा यस्तो अवैध धन्दा रोकिनुको साटो झन् मौलाएको देखिन्छ । मुलुकको कूल आयातको ७३ प्रतिशत वस्तु भारतबाटै आयात हुने गरेको छ ।भारतबाट अहिले पनि अधिकांश वस्तु ‘लोकल पैठारी’मार्फत् भित्रिने गरेको छ । अवैध कारोबारलाई निरुत्साहित गर्न आयातलाई पूर्णरूपमा बैंकिङ प्रक्रियामा लग्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका विज्ञहरूले बताए पनि सरकारले उक्त विषयमा चासो देखाएको छैन ।उच्च शक्ति र पैसाकै आडमा लामो समयदेखि नेपाली बजारमा नक्कली वस्तुहरूको आयात गरी उपभोक्ता ठगी हुँदै आएकोमा पछिल्लो समयमा ब्राण्डेड सामानको नाममा लुट नै मच्चाउँदै आएको फेला परेको छ ।

अग्रवाल बाबुछोराको अवैध धन्दा
मुलुकको विद्यमान कानुनी छिद्रताको फाइदा उठाउँदै व्यवसायी राजेन्द्र मेहनसरिया (अग्रवाल) र उनका छोरा रोशन मेहनसरिया (अग्रवाल)लेविगत केही वर्षयता अवैध धन्दा चलाउँदै आएको फेला परेको छ ।उनीहरूले इरेक तथा अन्य ब्राण्डका जुत्ता आयात तथा बिक्रीमा ठूलो मात्रामा राजस्व र भन्सार छली गर्दै आएको पाइएको छ । अग्रवाल बाबुछोराले विगत लामो समयदेखि ब्राण्डेड जुत्ता आयात तथा बिक्री गर्दा ‘लखनउ लुट’ मच्चाएको आरोप लाग्दै आए पनि त्यसबारे सरकारले कुनै छानबिन गरेको छैन ।चीनमा बनेका इरेक, पिक तथा अन्य ब्राण्डका जुत्ता आयात गर्दा भन्सार तथा राजस्व छली ब्रम्हलुट मच्चाएको स्रोतको दाबी छ ।

राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडको मक्खनमा मुख्य कार्यालय रहेकोे गोपीकृष्ण इम्पेक्स, सुरज आर्केट, रञ्जना ट्रेड तथा अन्य स्थानहरूबाट राजेन्द्र र रोशनले यी ब्राण्डका जुत्ताको होलसेल कारोबार गर्ने गरेको पाइएको छ ।इरेक जुत्ताको नेपालको एजेन्सी बताउने रोशनले ‘अण्डर बिलिङ’ (न्यून विजकीकरण)मा सामान मगाउने, ग्राहकलाई भ्याट बिल नदिने र मुख्य खातापाता कमलपोखरीस्थित आफ्नै घरमा राखेर राजस्व छली गर्ने गरेको पाइएको हो ।

भारतको राजस्थानस्थित महेनसरियाबाट रंगुन गएका राजेन्द्र र रोशन अग्रवाल रंगुनबाट नेपाल आएर अवैध काम सञ्चालन गरिरहेको पाइएको छ ।व्यापारीले रिबुक, एडिडास, फिला, नर्थफेस, नाइक जस्ता विश्व प्रख्यात ब्राण्डका वस्तु आयातमा राजस्व छली गरी सामान नेपाल भित्र्याउँदै करोडौँरूपैयाँ राजस्व छली गरेको भेटिएको हो ।

नाभन्सार या न्यून बिलिङबाट सागर एण्ड साधना बिजनेस प्रालिले उक्त ब्राण्डका दुई करोड २३ लाख रूपैयाँ मूल्य बराबरको जुत्ता राजस्व छली गरी भित्र्याएको छ ।लेखा नं. ३०२६७२७४३० भएको सागर एण्ड साधना बिजनेस प्रालिले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्राण्डका जुत्तालाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनी ठूलो परिमाणमा राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

लिलाबहादुर घिमिरे र गंगाबहादुर घिमिरे सञ्चालक रहेको सागर एण्ड साधना बिजनेस प्रालिले भन्सार एजेण्टसँगको मिलेमतोमा भन्सार कार्यालयबाट जाँचपास गराइ सामान पैठारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।फर्मका सञ्चालकसँगै राजस्व चुहावट गर्ने कार्यमा भन्सार एजेन्ट दीपेन्द्रराज पाण्डेको पनि संलग्नता देखिएको हुँदा भन्सार ऐन २०६४ को दफा ५३ अनुसार उनीमाथि पनि कारबाही माग गरिएको छ ।कुनै पनि सामग्री आयातमा भन्सारले त्यसको कूल मूल्यमा गाडी भाडा र बिमा शुल्क जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ।

बिल्टी, सिपिङ बिल र बिमा कागज नहुँदा भन्सारले कूल मूल्यको १० प्रतिशतका दरले गाडी भाडा र दुई प्रतिशतका दरले बिमा गरी १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व लिने गर्छ । सेटिङ मिलाउने व्यापारीले भारतीय भन्सार र भैरहवा भन्सारमा पेस गरेका बिललगायत कागजपत्र एउटै नहुने भन्सारकै एक कर्मचारीले बताए । उनीहरूले भारतमा एउटा र भैरहवामा अर्को फर्मको बिल पेस गरेर काम गरिरहेको भेटिएको छ ।