पित पत्रकारिता गर्नुहुँदैन : केपी ओली

काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताएका छन् । पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको उद्घाटन गर्दै ओलीले सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताएका छन् । सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको बताएका छन् ।

अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उहाँले स्वतन्त्र प्रेसको अवस्था अझै पछि रहेको स्पष्ट पारेका छन् । स्वतन्त्रता एवम् हकअधिकारका क्षेत्रमा संविधानले स्पष्ट व्यवस्था गरेको चर्चा गर्दै, हक र अधिकारसँगै कर्तव्यको पालना पनि गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ओलीले नवीनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै अतितमुखी नभई आगतमुखी हुनुपर्ने समेत बताएका छन् ।

पत्रकारिता एउटा राष्ट्रको समुन्नति र विकासका लागि हुनुपर्ने र प्रेस चौतारीले आगामी दिनमा आफूलाई अझै व्यवस्थित एवं एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता हो । ओलीले देशको राजनीति जनादेशी र परामादेशीबीच दुई धारमा विभक्त भएको भन्दै आसन्न निर्वाचनका माध्यमबाट जनादेश विरोधीलाई परास्त गर्ने भनेका छन् । समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी सबै लाग्नुपर्नेमा जोड दिएका हुन ।

अध्यक्ष ओलीले प्रेस चौतारी नेपालबाट प्रदान गरिने पुरस्कारबाट प्रेस चौतारी नेपालका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल, उपाध्यक्ष शान्ति गुरुङ, लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीसहित विभिन्न व्यक्तिलाई सम्मान गरी प्रकाशित स्मारिकाको पनि विमोचन गरेका हुन ।