संसदमा भत्ता खानेबाहेक केही काम भएन : केपी ओली

काठमाडौँ । नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्ले कामै गर्न नसकेको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताएका हुन् ।

शनिबार भएको आयोजित कार्यक्रममा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताएका छन् । संसद्लाई निकम्मा बनाएर भत्ता खानेबाहेक के काम गरेको छ पार्लियामेन्टले उनले प्रश्न गरेका थिए ।

भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा, केपी ओलीले भनेका छन् । पुरानो जनादेशले काम गरेसम्म काम गर्नुपर्छ । काम गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ भनेका छन् । प्रतिनिधिसभालाई ओलीले सरकारमा रहँदा दुई पटक विघटन गरेका थिए । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेको थियो ।

प्रधानमन्त्रीबाट ओली बाहिरिएपछि एमाले विभाजन भएको थियो । सोही विभाजनलाई लिएर एमालेले भदौ २३ गतेदेखि संसद्का दुवै सदनमा अवरोध जारी राखेको छ । ६ महिनादेखि एमालेले संसद्‍मा अवरोध जारी राखेको छ । जसका कारण संसद्ले काम गर्न सकेको छैन । सांसद्हरूले भत्ता र तलब भने लिइरहेका छन् । ओलीले सोही कुरालाई लिएर संसद्ले काम गर्न नसकेको, सांसदले भत्ता मात्रै खाइरहेको भन्ने अभिव्यक्ति दिएका छन् ।

सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरूमा सत्ताको उन्माद लागेको पनि ओलीले भनेका छन् । सबैभन्दा खराबी कुरा के हो भने सत्ताले उन्माद जन्माउछ । कहिलेकहिले खासै स्ट्रेन्थ नभएका केही पनि नभएका व्यक्तिहरू पनि झुक्कलपुक्कल, अनेक जाल, तिकडम आदिइत्यादि परमादेश जारी भएका बखत यस्ता हुलमालमा केही मान्छेहरु पनि पावरमा पुग्न सक्छन्, भनेका छन् । वर्तमान सरकारमा रहेकाले देशको हित, लोकतन्त्र, संविधानको रक्षा गर्न नसकेको ओलीको आरोप लगाएका छन् ।