ऐतिहासिक सहर पनौतीमा पुरानै शैलीका घरहरु निर्माण हुदै

काठमार्डौ । काभ्रे जिल्लाको पनौती नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घरहरु बनाइँदैछ । पनौती नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ । आर्थिक सहयोग प्राप्त गर्नका लागि स्थानीयवासीलाई पुरातत्व विभागले दिएको मापदण्डानुसारको पुरानो शैलीका निजी आवास बनाउनुपर्ने हुन्छ ।

योजनाअन्तर्गत वडा नं ७ का ११ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले बताएका छन् । पुरातत्व विभागले ताकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालिएको नगरपालिकाले भनेको छ । संरक्षित क्षेत्रमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालेका हो । नगरप्रमुख भीम न्यौपानेले भनेका छन् । न्यौपानेका अनुसार पुरानो शैलीका घर बनाउँदा महँगो पर्ने भएकाले ऐतिहासिकता जोगाउन नगरले सहयोग गर्ने थालेको बताएका छन् ।

घर निर्माणमा ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्सहान रकम प्रदान गरिएको नगरपालिकाले बताएका छन् । प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्ने स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन थालेका हुन् प्रमुख न्यौपानले बताए । प्रोत्सहान रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पुरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेकाको नगरप्रमुख न्यौपानेले बताएका छन् । हालसम्म ७१ परिवारले पुरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेश गरेका छन् ।

काभ्रेपलाञ्चोकको उक्त नगरस्थित ७ नं वडा विश्वसम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र पनि हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत गरिने बताएको छ । सूचीकृत गर्न अन्तिम प्रक्रिया थालिएको नगरप्रमुख न्यौपानेले जानकारी गराउका छन् ।

पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएको थियो । यसपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले सो प्रक्रियाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेटसमेत विनियोजन गरेको छ ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । ती हुन्ः काठमाडौँ उपत्यका उपत्यकाका ७ क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र,भक्तपुर दरबार क्षेत्र,पशुपतिनाथको मन्दिर,स्वयम्भूनाथ,बौद्धनाथ र चाँगुनारायण मन्दिर,चितवन राष्ट्रिय निकुञ्ज,लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । तीमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ ।