जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीहरुसँग घुस मागेपछि

काठमार्डौ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीहरुसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि मालपोत कार्यालयभित्र नै हुने बदमासी सार्वजनिक भएको छ ।

कानुनअनुसार प्रक्रिया पूरा गरेर तोकिएको राजस्व तिरेपछि घर जग्गाको नामसारी हुन्छ । सो कार्यका लागि सरकारले देशभर नै मालपोत कार्यालय स्थापना गदै आएको छ । घर जग्गाको कारोबार र नामसारीको सेवा दिन बसेका कर्मचारीले नियमअनुसार काम गर्नुपर्छ र आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी सामान्य प्रक्रियामा हुने काममा उल्झन खडा गरे वा त्यसैमा घुस माग्यो भने त्यो सरासर भ्रष्टाचारजन्य अपराध ठहरिन्छ ।

आयोगका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँमा कार्यरत खरिदार लक्ष्मण बस्नेतले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग रु १ लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले घुस लिँदै गरेको अवस्थामा यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको बताएका छन् । जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वको समेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ । घर जग्गाको कारोबार वा नामसारी गराउने जिम्मेवारी लिएर मालपोत कार्यालयमा बसेका एकाध कर्मचारीले बदमासी गर्दा त्यसको असर अन्य कार्यालयमा समेत परेको छ ।