कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्ने प्रयास

काठमार्डौ । जुम्ला जिल्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास अघि बढाएको छ । पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेका छन् । छाउपडी प्रथा समाजकै कुरीति भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताएका छन् ।

महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छाउपडी जस्ता कुरीतिलाई निरुत्साहित गर्ने कार्य भइरहेको भन्दै , छोराछोरी बीच गहिरो विभेद छ । छाउपडी प्रथाले समाजमा हिंसा निम्त्याइरहेको छ । यी दुवैलाई गाउँपालिकाबाट निर्मूल पार्ने अभियान गर्न थालिएको हो । छोरीलाई पनि छोरासरह सम्पत्ति दिने र छाउपडी हुँदा घरमै बस्न दिने परिवारलाई सम्मान पनि गरिएको बताएका छन् ।

समाज अझै छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने परम्परामा बाँधिएको छ । यो कार्यालाई अन्त्य गर्न स्थानीय सरकार लागिपरेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले जानकारी दिएका छुन । गाउँपालिकामै १९ जनाले छोरीलाई पैतृक सम्पति दिएको विवरण गाउँपालिकाले सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताएका छन् ।

गाउँपालिकाले छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान पनि गरेको छ । छाउपडी प्रथा बार्ने नगरेका स्थानीयवासी खाम्बा शाही, राजबहादुर शाही र देबु सुनार पनि सम्मानित भएका छन्। भेदभावरहित समाज निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।