गाउँमै स्वास्थ्योपचार हुँदा स्थानीयवासी खुसी

काठमार्डौ । सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी भएका छन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकामै पाँचपोखरी प्राथमिक अस्पतालको सेवा पाउन थालेपछि स्थानीयवासी कल्पना पण्डितले खुसी व्यक्त गरेकी हुँन ।

गाउँपालिका–६ का बलबहादुर आचार्य लामो समयदेखि दमको समस्याले पीडित थिए। यसअघि मेलम्ची, धुलिखेल तथा काठमाडौँ गएर उपचार गराउँदै आएका उहाँ अहिले गाउँपालिकामै निःशुल्क खाना, खाजाको सुविधासहित सेवा लिन पाउँदा मख्ख परेका छ न् । उहाँले स्थानीय तहले राम्रो काम गर्दै गएको समेत बताए ।

कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित यस अस्पतालबाट अहिले सबैखाले सेवा प्रदान गर्न थालिएको छ । सीमित स्रोतसाधन र जनशक्तिबाट अहिले पनि कोभिडसँगसँगै अन्य सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख डा सोनाली खतिवडाले जानकारी दिएका छन् । पाँचपाखोरीका आठवटै वडामा सुविधासम्पन्न सुरक्षित सुत्केरी केन्द्र बर्थिङ सेन्टरको व्यवस्था पनि छ ।

निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको पालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको अध्यक्ष टासी लामाले दाबी गरेका छन् । उहाँले भने स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर निःशुल्क उपचार सेवा प्रदान गरिरहेका छौँ । नागरिकले ठूला विकासको अपेक्षा गरेका छैनन् । केबल शिक्षा, स्वास्थ्यलगायतका विषयमा आधारभूत सुविधा पाए स्थानीय तह भएको महसुस गर्न सकिने स्थानीयले बताएका छन् । नागरिकका समस्यालाई स्थानीय सरकारले बुझ्न सके राम्रो हुने उनीहरूको प्रतिक्रिया छ ।