धमाधम नयाँ भवन उद्घाटन गर्दै महानगर


काठमाडौं । काठमाडौं महानगरपालिका यतिखेर निर्माण सम्पनन भएका भवनहरुको उद्घाटनमा जुटेको छ । स्थानीय तहको निर्वाचन अघिसम्म भाडामा सेवा प्रवाह गर्दै आईरहका महानगरका वडा कार्यालयहरु जनप्रतिनिधि निर्वाचित भएर आएसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने अवसर प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा विद्यासृुन्दर शाक्य निर्वाचित भएसँग उद्घोष गरेको कार्यले यतिखेर सफलता हासिल गर्दै गईरहेको देखिन्छ ।

निर्वाचित भएर आएसँगै शाक्यले आफ्नो पाँच वर्षे कार्यकाल भित्र महागरपालिकाका हरेक वडाको आफ्नै भवन निर्माण सम्पन्न गर्ने उद्घोष गरेका थिए । सोही अनुरुप यतिखेर निर्माण सम्पन्न भएका वडा कार्यालयहरुको प्रमुख शाक्य उद्घाटनमा नै व्यस्त देखिएका छन् । सोही क्रममा काठमाडौँ महानगरपालिका वडा नं १४ को नवनिर्मित वडा भवनको प्रमुख शाक्यले उद्घाटन गरेका छन् ।

काठमाडौ महानगरपालिकाका अधिकांश वडा कार्यालय स्थान अभावका कारण निकै कठिनाईका साथ महानगरवासीहरुको सेवा प्रवाहमा जुटिरहेको थियो । महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै हरेक वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गरी सेवा सञ्चालन गर्ने लक्ष्य अनुरुप वडाहरुको निर्माण र उद्घाटनले निरन्तरता पाईरहेको छ । सोही अनुरुप महानगरपालिकाको वडा नं. १४ पनि निर्माण सम्पन्न पश्चात उद्घाटन गरिएको हो ।

वडा भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु निर्वाचित भएर आउनु अघि धेरैजसो वडा कार्यालयहरुले सानो ठाउँमा भाडामा लिएर जनताको सेवा गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको बताए ।

उनले अहिले महानगरपालिकाका धेरै वडा कार्यालयहरुको नयाँ भवन निर्माण भईसकेको र कतिपय वडा कार्यालयहरु वन्दै गरेको जानकारी दिँदै निर्माण कार्य कहिल्यै पूरा नहुने भएपनि निरन्तर चलिरहने बताए ।
सम्वोधन कै क्रममा प्रमुख शाक्यले कोभिडको समयमा विकास निर्माण भन्दापनि जनता बचाउनतर्फ आफुहरु सक्रिय रहेको बताए । उनले काठमाडौ महानगर स्थानिय सरकारको जिम्मेवारीमा रहेकोले विकास निर्माण, स्वस्थ्य शिक्षाका क्षेत्रमा मात्र नभएर मठमन्दिर निर्माण र परम्परालाई बचाउने अभियानमा महानगर लागि परिरहेको समेत जानकारी दिए ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले समृद्ध महानगर बनाउने योजना अनुरुप नै विकासका कार्यमा महानगर अघि बढिरहेको धारणा राखिन् । विकास निर्माणका कार्यलाई वडाको जनसंख्याका आधारमा बजेट विनियोजन गर्ने र वडा कार्यालयको बजेटले नभ्याउने अवस्था आएमा केन्द्रकै बजेटबाट पनि विकास निर्माणलाई अगाडि बढाइने उनको भनाई थियो ।

भवन निर्माण हुनु अघि कर्मचारी एवं जनप्रतिनिधीहरु मिलेर एउटै कोठाबाट सेवा प्रवाह गर्दै आईरहेका थियौं । अव भने सेवाग्राहीहरुलाई समेत सेवा लिन सहज हुने गरी नयाँ भवनमा प्रशस्त ठाउँ भएकाले पनि विगतमामा सेवा प्रवाहका लागि निकै सहज हुने भन्दै वडा नं. १४ कि वडा अध्यक्ष शोभा सापकोटाले खुशी व्यक्त गरिन् ।
४ तल्लाको सो भवन करीव ८ आनामा निर्माण गरिएको छ । भवन निर्माणका लागि तीन वर्ष अघि २०७६ वैशाख ४ गते महानगर प्रमुख शाक्यले भवन निर्माणका लागि सिलान्यास गर्नु भएको थियो ।

करीव ११ हजार ८२ बर्गफिट रहेको वडा भवनको भूमिगत तल्लामा पार्किङ्ग निर्माण गरिएको छ । भवनलाई अपाङ्गमैत्री बनाएको छ भने भवनमा वडा क्लिनिक, जनप्रतिनिध र कर्मचारीहरुका लागि बेग्ला बेग्लै व्यवस्थिति कक्ष, वैठक, पुस्तकालय एवं सहजकर्ता कक्ष समेत निर्माण गरिएको छ ।

आधुनिक रुपमा निर्माण गरिएको सो भवनको निर्माण लागत भने ४ करोड ३४ लाख ३३ हजार ६ सय ९२ रुपैयाँ ९० पैसा रहेको छ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि आएसँगै घरभाडामा लिएर सेवा प्रवाह गरिरहेका अधिकांश कार्यालयहरु निर्माण सम्पन्न भईसकेका छन् । महानगरको ३,४,९,१४, १८, २६ वडा कार्यालयहरु निर्माण सम्पन्न भई सेवा समेत प्रवाह शुरु भईसकेको छ भने २,६,१२, २०, २१, २२, २७, ३१ नम्वर वडा कार्यालयहरु निर्माणाधिन अवस्था रहेका छन् ।