शैलुङ गाउँपालिकामा अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्रको शिलान्यास

काठमाडौँ । हिमाली जिल्लामा रुपमा परिचित दोलखा जिल्लाको शैलुङ गाउँपालिका कालापानी ८ स्थित अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम केन्द्र तथा अनुसन्धान केन्द्रको शिलान्यास गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी सहित नेपाल तेक्वान्दो संघका पदाधिकारी, गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल र युवाहरुले उचाइ तालिम केन्द्र र अनुसन्धान केन्द्रको शिलान्यास गरिएको हो ।

खेल पर्यटनका माध्यमबाट समृद्ध शैलुङ गाउँपालिकामा विभिन्न अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्ने उदेश्य रहेको अध्यक्ष दुलाले बताए । सो स्थानमा २८ सय मिटर उचाइमा अन्तर्राष्ट्रिय खेलाडीहरुले तालिम गर्ने सकिने बताए ।

सो तालिम केन्द्रमा सिगापुर, थाईलैण्ड अमेरिका, जापान, मलेसिया लगायतका खेलाडीहरुलाई सहज रुपमा बसोबासको व्यवस्था पनि भएको नेपाल तेक्वान्दोको महासचिव दिपराज गरुङले जानकारी दिए ।

शैलुङ क्षेत्रको विकाससँगै खेलकुद क्षेत्रको पनि विकास गर्ने उद्देश्यका लागि पनि यस्ता तालिम केन्द्रहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने गाउँपालिकाका अध्यक्ष दुलालले बताए ।

तालिम केन्द्र सञ्चालन पछि शैलुङ गाउँपालिकामा व्यापार, होटल, जस्ता विभिन्न रेष्टुरेण्टहरु संचालन भई आर्थिक विकास हुने हुँदा यो क्षेत्र झनै विकसित हुने र धार्मिक क्षेत्रमा पनि विकास हुने बताएका छन् । सो केन्द्र करिव २७ करोडको लागतमा निर्माण हुँदैछ ।