राससलाई वाणिज्य बैंकको सहुलियत ऋण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति राससका कर्मचारीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा भएको आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका तर्फबाट शाखा प्रबन्धक विक्रममान श्रेष्ठले हस्ताक्षर गरेको छ ।

वाणिज्य बैंकले आधार दरमा थप ४ प्रतिशत प्रिमियम थप गरी सहुलियत कर्जा उपलब्ध गराउने भएको छ सरकारी स्वामित्वका संस्थान, समिति एवम् सङ्गठित संस्थामा कार्यरत कर्मचारीहरुलाई सहजरुपमा कर्जा सुविधा दिँदै आएको वाणिज्य बैंकले सम्झौता गर्दै आएको बताएको छ । राससका कर्मचारीको हितका लागि आफूहरुले सम्झौता गरिएको महाप्रबन्धक राईले बताएका छन् । देशभर सञ्जाल भएको, विश्वसनीय एवम् भरपर्दो रासससँग सहकार्य गर्न पाउनु आफूहरुका लागि समेत गौरवको विषय भएको राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक श्रेष्ठले बताए ।

वाणिज्य बैंकले यसअघि पनि नेपाली सेना, नेपाल प्रहरी, नेपाल वायु सेवा निगम, संघीय संसद् सचिवालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगमसँग पनि सम्झौता गरिसकेको बताएका छन् । सम्झौता भएपछि पेशाकर्मी सरल कर्जा मार्फत १५ हजार कर्मचारीहरुले कर्जा सुविधा पनि दिएका छन् ।

देशभर शाखा सञ्जाल भएको सरकारी स्वामित्वको वाणिज्य बैंकले २५८ शाखा कार्यालय, २४५ एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहको छ । राष्ट्रिय वाणिज्य बैंकले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक बैंकले ‘स्मार्ट क्यूआर टेलर’ प्रणाली लागू गरेको छ । सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले केही पहिलादेखि उक्त सेवा प्रदान गर्न थालेको हो ।

विसं २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुराउने उद्धेश्यका साथ स्थापना भएको यो बैंक देशका सातै प्रदेशका ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत हो ।