महानगरका मेयर शाक्य दरवार हाईस्कूलका विद्यार्थीसँगै

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी छेउमा रहेको दरबार हाईस्कूल पुगेका छन् । भानु मा. वि.का रुपमा चिनिने दरबार हाई स्कूलमा रोवोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गर्न मेयर शाक्य पुगेका ह्ुन् ।

महानगरबाट प्राप्त ३८ लाख रुपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २७५ रुपैयाँमा ६ वटा इन्टरएक्टिभ बोर्ड र १४ लाख ६ हजार ९१८ रुपैयाँमा रोवोटिक्सका सामग्रीहरु खरिद गरिएका हुन् ।

यी सामग्रीहरुको प्रयोग गरेर विद्यार्थीहरुले स्मार्टको नमूनासहित विभिन्न उपकरण बनाएका छन् । कक्षा सञ्चालन गर्दा शिक्षकहरुले इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्न थालेका छन । शिक्षकको निर्देशनमा विद्यार्थीहरु पनि बोर्डको प्रयोग गर्छन् ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला तथा बोर्डको उद्घाटन गरे । कार्यक्रममा मेयर शाक्यले, आधा दर्जन बढी चुनौतीको सामना गरेर विद्यालय पुननिर्माण गरिएको अवस्था बताउँदै विद्यालयले कस्तो परिणाम ल्याउँछ त्यसमा चिन्ता भएको उल्लेख गरे ।
मेयर शाक्यले भने, ‘२०७२ सालको भूकम्पले भत्किएको विद्यालय पुननिर्माण गर्दा हामीले साविकको २ तलाबाट ४ तला बनाएका हौँ । २ तला भएको पुरानो भवनजस्तै २ तलाकै बनाउनुपर्छ भन्ने आवाज बलियो थियो । यसमा हामीले समयअनुसारु स्तर बढाउनु पर्छ भनेर ४ तला बनाउने निर्णयमा अडिग रह्यौँ ।’

मेयर शाक्यले, विद्यालय पुननिर्माण गर्दा चाहिने निर्माण सामग्री र मजदुर बस्नका लागि खुल्ला मञ्चको प्रयोग गर्दा पनि आफूले निकै आलोचना खेप्नु परेको अनुभव सुनाउँदै भने, ‘हामीले लिएको नीतिमा अटल रहेर सम्पन्न पूर्वाधार तयार पारेका छौँ । यसमा विद्यालय सञ्चालन गर्न अर्को टीम निर्माण गर्न सुझाव आएको थियो तर हामीले साविक जनशक्तिबाट गुणस्तर आउँछ भन्ने विश्वासमा वडा समितिको आग्रहमा निरन्तरता दिएका छौँ । लगानी हामी गर्छौँ, परिणाम ल्याएर देखाउनोस् ।’

वि. सं. १९१० असोज २७ गते स्थापना भएका दरबार हाई स्कूललाई १९३२ मा माध्यमिक तहमा स्तरउन्नति गरिएको थियो । १९४२ सालमा वीर शम्शेरले जनताका लागि पनि खुल्ला गरेका थिए । उनकै पाला (१९४८) मा विद्यालयको स्थायी संरचना बनाइएको हो ।

२०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको दरबार हाइस्कूल पुननिर्माणको काम भुकम्पीय विपत्तिपछि चीन सरकारको सहयोगमा भएको हो । ९ रोपनी जग्गाको ४ हजार २०० स्क्वायर मिटर क्षेत्रमा निर्माण भएको विद्यालयको पुननिर्माण लागत ८५ करोड रुपैयाँ हो । चार तले विद्यालय भवनमा ४५ वटा कोठा छन् । भवनको डिजाइन चीनको चाइना एभिएसन प्लानिङ् एण्ड डिजाइनिङ् इन्टिच्युटले गरेको हो ।

२० महिना पुननिर्माण अवधि लक्ष्य राखेर २०७५ साउन १८ गते एक औपचारिक कार्यक्रमकाबीच पुननिर्माणको काम थालिएको थियो । २०७७ कार्तिक ५ गते पुननिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई विद्यालय हस्तान्तरण गरेको हो ।