अमूर्त सम्पदा बचाउन महानगर प्रतिवद्ध: मेयर शाक्य

काठमाडौं । अमूर्त सम्पदा संरक्षणका लागि काठमाडौं महानगरपालिका प्रतिवद्ध भएर लागिरहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । काठमाडौँ महानगरपालिकाले २३ वटा गुँला बाज खलः पुचहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन आयोजिन कार्यक्रममा शाक्यले सो कुरा बताएका हुन् ।

महानगरको वडा १५ को डल्लु आवास क्षेत्रमा रहेको कसाः ख्य मा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले हरेक बाजा समूहलाई २ लाख रुपैयाँका दरले सहयोग रकम प्रदान समेत गरेका छन् । गुँला पर्वमा बजाइने बाजा संरक्षण गरेर सांस्कृतिक चालचलनलाई निरन्तरता दिन सहयोग रकम प्रदान गरिएको हो ।

मेयर शाक्यले अमूर्त सम्पदा बचाउन समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । ‘सांस्कृतिक गतिविधिमा बजाइने परम्परागत बाजा जोगाउन र यी बाजा बजाउन समुदायले समय र रकम खर्च गर्नुभएको छ । यस प्रकारको धैर्यतालाई प्रोत्साहन गर्न हामीले कम्तीमा केही त होस् भनेर अनुदान रकम दिएका हौं ।’ शाक्यले भने, ‘हामीले दिएको सहयोगबाट सबै खर्च नपुगे पनि नियमित खर्च व्यवस्थापन गर्न सहयोग पुग्नेछ । बाजा खरिद हुनेछन् । प्रशिक्षणका कार्यक्रम चल्नेछन्, भन्ने विश्वाश लिएको छु ।’

त्यस क्रममा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सम्पदा पुननिर्माणका कोणबाट अहिलेको कार्यकाल स्वर्णिम समय भएको उल्लेख गर्दै उनँले मेयर विद्यासुन्दर शाक्य नेतृत्वको जनप्रतिनिधिले धेरै सांस्कृतिक सम्पदा पुननिर्माण र संरक्षण भएको बताए ।