बज्रयान महाविहारलाई काठमाडौँ महानगरको १ करोड ५० लाख सहयोग

लुम्बिनी । लुम्बिनीमा निर्माण भएको बज्रयान महाविहारको कलात्मक सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले नेपाल परम्परागत बौद्ध धर्म, संघ लुम्बिनीको अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई महानगरले उपलब्ध गराउने रकमको ६० प्रतिशत बराबरको चेक उपलब्ध गराएका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा मेयर शाक्यले नेपालमा निर्माण हुने विहार नेपालकै लगानी हुनु पर्ने बताए । अहिले धेरै जसो विहार विदेशी दूतावास तथा संघसंस्थाहरुले निर्माण गरिरहेका छन् । तर नेपालले लुम्विनीमा विहान नबनाएकै कारण लुम्विनी सांस्कृतिक नगरपालिकासँग समन्वय गरी विहार निर्माणका लागि सहयोग गरेको बताए ।

मेयर शाक्यले भने, ‘ काठमाडौं महानगर केन्द्रीय राजधानीको सहर भएकोले आफ्नो क्षेत्रबाहिर गएर पनि सहयोग गर्नुपर्छ । यसरी सहयोग गर्दा त्यहाँका पालिकासँग समन्वय गरेर काम गरेका छौँ ।’

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि काठमाडौँ महानगरपालिकाले यस अघि ४ करोड २९ लाख १८ हजार रुपैयाँ प्रदान गरिसकेको छ ।

विहार निर्माणका लागि अहिलेसम्म करिब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड आवश्यक भएकाले त्यस मध्ये १ करोड ५० लाख रुपैयाँ महानगरले उपलब्ध गराएको हो ।

गएको ३ सय ७२ अघिदेखि नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बनेको थिएन । महानगरको सहयोगबाट ३ सय ७२ बर्षअघिको निर्माण सम्बन्ध जोडियो बौद्ध धर्म संघका अध्यक्ष प्रा. डा. बज्राचार्यले बताए ।