जुम्लाको ७७ क्षेत्रमा कृषि गणना गरिने

काठमाडौँ । आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिने भएको छ । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जुम्ला जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने कृषि प्रमुख कँडेलले जानकारी गराएको छ ।

कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको बताइएका छन् । सिञ्जा गाउँपालिका र पातारासी गाउँपालिकाका नौ स्थानमा गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० स्थानमा कृषि गणना गरिने छ । सबैभन्दा कम सात स्थानमा गुठीचौर गाउँपालिकामा पनि कृषि गणना हुने भएको छ । कृषि गणनाको लागि २६ गणक खटाइने भएको छ ।

गणकले कृषकका भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, बीउको प्रयोगबारे तथ्याङ्क लिनसक्ने छन् । यस्तै गणकले कृषिमा प्रयोग हुने सामग्री र औजारको उपयोग, पशुपक्षीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे तथ्याङ्क सङ्कलन गर्ने भएको प्रमुख कँडेलको भनाई रहेको छ ।