छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

काठमार्डौ सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका १२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको छ ।

आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिइएको छ । उनीहरुमाथी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्त माधवप्रसाद बुढाथोकीले जानकारी गराएको छ ।

प्रहरीले जगदीश ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको मलङ्गवा १२ गम्हरीयाका वडा अध्यक्ष रामदरश रायले जानकारी गराएका थिए । जगदीशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलामा हत्या गरेर बोराभित्र शव राखेर सेफ्टी ट्याङ्कीभित्र लुकाएको वडाध्यक्ष रायले आरोप लगाएका छन् ।

बालकको शव सेफ्टी ट्ययाङ्कीभित्र लुकाएर माटोले लिपिएको अवस्थामा फेला परेको अध्यक्ष रायले जानकारी दिएका छन् । मृतक बालकका परिवारसँग १५ लाख फिरौतीसमेत माग गरिएको वडाध्यक्ष रायको भनाई छ । फिरौतीका लागि बालकको अपहरण गरिएको थियो तर पोल खुल्ने डरले बालकको हत्या गरिएको आसंका गरेका छन् ।