रिभर फल्सको शेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कित्तामा १०० अङ्कित मूल्यको ७ करोड बराबरको ७ लाख कित्ता शेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जानकारी गराएको छ । साधारण शेयरमा आवेदकले १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।

निष्काशन गरिएको शेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्काशन खुला रहने कम्पनीले बताएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमी बैंकको खाँदबारी र चैनपुर शाखा, निष्काशन कम्पनीको आयोजना कार्यालय सङ्खुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

कम्पनीले प्रवद्र्धन गरिरहेको १० ३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानितप्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जानकारी गराएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।