हरिसिद्धिको १२ वर्षे प्याखँ’ नाच पशुपतिमा सम्पन्न

काठमाडौँ । हरसिद्धिको १२ वर्षे नाच पशुपति क्षेत्रमा सञ्चालन गरिएको छ । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा पुर्न सञ्चालन भएको छ । हरसिद्धि जलद्योः नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको ठुलो भीड लागेको छ ।

जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिएका छन् । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र खानका लागि बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल ७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणका क्रममा रहेकाले देवगणलाई पार्टी प्यालेसमा राख्नुपरेको समितिले बताइएका छन् ।

पार्टी प्यालेसमा राखे पनि जात्राका लागि गरिनुपर्ने शुद्धतामा कमी आउन नदिएको संयोजक वैद्यले बताए । राजा विक्रमादित्यका पालामा सुरु भएको जात्रा उनकै पालामा रोकिएको थियो । विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको विभिन्न भाषा वंशावलीमा पाइने संस्कृतिविद् मुकुन्दराज वैद्यको भनाइ छ । अमर मल्लले सुरु गरे पनि बीचमा यो नाच रोकिएकाले राजा प्रताप मल्लले फेरि सुरु गरेको थियो । विसं २०६६ अघि पनि करिब आधाशताब्दी जात्रा लोप भए पछि करिब ५० वर्षसम्म हरसिद्धिबाट पशुपति क्षेत्रमा नाच भएको थिएना । हरसिद्धिवासी धर्मगोविन्द महर्जनले पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका बासिन्दा बीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताएका छन् । तीनै पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु गरिएको हो । अब भने स्थानीय सरकारलगायतको सहयोग लिएर पनि जात्रालाई निरन्तरता दिने प्रतिबद्धता समितिले गरेको छ ।

इतिहासमा उल्लेख भएअनुसार जात्रा सुरु भएको करिब २ हजार वर्षअघिदेखि नेपालमा गीति नाटकको परम्परा रहेको पनि संस्कृतिविद् वैद्यले पुष्टि गरेका छन् । जात्रा चैत २५ गते शुक्रबार पशुपति आएकामा नाचका सबै विधि पूरा गरी आजै बेलुकी सकिने छ । जात्राका लागि २० लाख बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइएको बताएका छन् ।