चोरीको मोटरसाइकल सहित वडाध्यक्ष पक्राउ

काठमाडौँ । जाजरकोटमा चोरीको मोटरसाइकल सहित वडाध्यक्ष पक्राउ परेको छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन रहेका छन् । मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल वडाध्यक्ष पुनले चलाउँदै आएका थिए। तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन् ।

उनी वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार नगरेको बताए । उनले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताए । मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवावपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतले अनुसन्धानका लागि वडाध्यक्ष पुनलाई सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताएका छन् । वडाध्यक्षमा फेरि दोहरिने इच्छा राखेका उनलाई चोरीको मोटरसाइकल काण्डले ठुलै धक्का लाग्ने छ । उनी अहिले प्रहरी हिरासतमा छन्।