कैलालीमा भीषण आगलागी ६० घर जलेर नष्ट

काठमाडौँ । कैलालीमा भीषण आगलागी हुँदा ६० घर जलेर क्षेति भएको छ । कैलारी गाउँपालिका ७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ । उक्त गाउँपालिकामा आगलागी भएको खबर पाएपछि भजनी प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ । प्रमुख जिल्ला अधिकारी थापाले दुई वटा दमकलको सहायतामा प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयअघि मात्रै आगो नियन्त्रणमा आइसकेको जानकारी गराएका छन् ।

धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । उक्त गाउँमा मुक्त कमैया बस्ती रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त गाउँमा ६० घर जलेर क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी दिइएका छन् ।

घटनास्थलतर्फ गइरहेका प्रजिअ थापाले भने आगलागी पीडितको उद्धार र राहतको व्यवस्थापनको काम पनि तत्कालै सुरु गर्न लागेका बताए । घटनाबाट पुगेको क्षतिको एकीन विवरण आउन बाँकी छ ।