८० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हाल सम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको जानकारी दिइएका छन् ।

स्थानीय निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । काठमाडौँ सहित ६ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाई गरिने आयोगले जानकारी गराएको छ । अन्य बाँकी जिल्लाको मतपत्र भने छाप्नेक्रम जारी रहेको छ ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको बताएको छ ।

निर्वाचन आयोगले ७७ वटै जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको र वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने तयारी गरिएको समेत जानकारी गराएको छ । निर्वाचन आचारसंहिता वितरितका गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने भएकाले यस्तो कार्यबाट सजग रहन आयोगले सबैलाई अनुरोध समेत गरेको छ ।

स्थानीय तह सदस्य निर्वाचनका लागि ६८ वटा संस्थाले आयोगबाट पर्यवेक्षणका लागि अनुमति लिइसकेको र ती संस्थाबाट करिब २० हजार भन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको समेत प्रवक्ता पौडेलले जानकारी दिइएका छन् ।