स्थानीय तहको निर्वाचनमा सूर्यविनायकमा एमालेभित्र तीब्र असन्तुष्टी

भक्तपुर । आसन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १० वटा वडा रहेको सूर्यविनायक नगरपालिकामा मेयर तथा उपमेयर समेत जित्दै वडा नम्बर २, ३ र ६ बाहेक सबै जितेको थियो । नगरकार्यपालिकामा एमालेको स्पष्ट बहुमत रहेको सूर्यविनायक नगरपालिकामा वितेको कार्यकाल केही वडा बाहेक कुनैपनि वडामा सन्तोषजनक काम हुन नसकेको भन्दै सर्वत्र निन्दा समेत हुँदै आएको छ ।

थापाको दाउपेच सफल ः
आसन्न स्थानीय तहको निर्वाचनमा पनि एमालेभित्र तीब्र विरोध हुँदा हुँदै जनताका बीच राम्रो छवि बनाएका वडा नम्बर ८ का वडा अध्यक्ष किरण थापा, पूर्व पार्टी जिल्ला अध्यक्ष राजेन्द्र राजथलालाई पाखा लगाएर दोश्रो कार्यकालका लागि पनि बासुदेव थापा मेयरका उम्मेदवार बन्न सफल भएका छन् ।

भक्तपुर जिल्लाका प्रभावशाली नेता महेश बस्नेतको निर्वाचन क्षेत्र पर्ने उक्त नगरपालिकामा यसपालीको स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौट प्रक्रियामा समेत मेयर थापाको दबदबा रहेको पाइएको छ । उनले आफू पक्षीय वडा अध्यक्ष नै पुनः दोहो¥याउनुपर्ने भन्दै यसअघि पनि बस्नेतलाई पत्तो नै नदिइ बालकोट पुगेका थिए ।

हाल बालकोट केन्द्रसँग मेयर थापाको प्रत्यक्ष सम्पर्क बलियो बन्दै गएका कारण पनि उनी र उनले चाहेका वडा अध्यक्षहरु वडा नम्बर १ मा सानुकाजी कायस्थ, ४ मा भोला राउत, ५ मा राजकुमार जोशी, ७ मा रविन्द्र सापकोटा, ९ मा उपेन्द्र केसी तथा उनको आफ्नै वडा १० मा शिवराम राउतलाई वडा अध्यक्षका टिकट दिलाउन सफल भएका छन् ।

मेयर थापाको गतिविधिबाट चिडिएका बस्नेत आगामी प्रदेश र संघीय चुनावमा आफूलाई समेत प्रभाव पर्ने देखेपछि चुपचाप बस्न बाध्य भएको विश्लेषण गर्न थालिएको छ । बस्नेतले आफ्नै मामा पर्ने वडा नम्बर ९ का हालका वडा सदस्य विनय महतलाई वडा अध्यक्षको टिकट दिलाउन अन्तिम समयसम्म प्रयास गर्दा पनि केही नलागेपछि उनी ब्याक भएका थिए ।
नेकपा एमालेका तर्फबाट सूर्यविनायक नगरपालिकामा उम्मेदवारी दर्ताभएपछि कार्यकर्ता तथा शुभेच्छुक मतदाताहरुमा समेत निराशा छाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मेयर थापाले एकलौटी निर्णय गरी टिकट बाडेको भन्दै नगरपालिका विभिन्न वडामा वागी उम्मेदवारी समेत दर्ता भएको छ ।

यसैक्रममा वडा नम्बर ४ मा एमाले जिल्ला कमिटी सदस्य एवं वडा नम्बर ४ का इन्चार्ज अनिल मानन्धर, नेकपा एमाले वडा नम्बर ४ कमिटीका उपाध्यक्ष सुमन न्यौपाने, सदस्य राजेन्द्र राजथलाले हिजो नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर थापाको स्वेच्छाचारी मनोबृत्ति ः
खासगरी मेयर बासुदेव थापाको कडा स्वभाव र नागरिकहरुप्रति गर्ने खरो व्यवहारका कारण नगरपालिकाका विपक्षी दलका कार्यकर्ता मात्र होइन, एमाले कार्यकर्तामा समेत नैराश्यता छाएको छ । त्यति मात्र होइन, थापाले आफू निर्वाचित भए लगत्तै परिवारवादमा लिप्त हुँदै आफ्नी छोरी सुमित्रा थापालाई टाइपिष्टको जागिरमा भर्ती गरे ।

तर विडम्बना उनकी छोरी सुमित्राले आफ्नो पदीय जिम्मेवारी बिर्सेर आफूभन्दा माथिल्लो तहका कर्मचारीलाई समेत आफ्ना बाबु थापाको आडमा निर्देशन दिने, आफ्नो पार्टीका नेता कार्यकर्तालाई आवश्यकता भन्दा सहयोग गर्ने, उनी र मेयर थापाका बारेमा टिप्पणी र सुझाव दिनेहरुलाई पाखा लगाउने गरेको व्यवहारबाट कर्मचारीहरु समेत आजित भएका छन् ।

त्यसो त मेयर थापाले आफू पदमा रहँदा आफू मातहतका वडा अध्यक्ष मार्फत विकास बजेट विनियोजन गर्दा समेत एकलौटी गरेको बताइएको छ । उनले खासगरी वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाको साथ लिएर वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा नम्बर ९ का उपेन्द्र केसी, वडा नम्बर १० का वडा अध्यक्ष शिवराम राउतलाई एकपक्षीय ढंगले च्यापेको भन्दै अन्य वडाका वडा अध्यक्षहरुले समेत विरोध जनाउँदै आएका थिए ।

त्यसो त पछिल्लो समयमा मेयर थापाले वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार भोला राउतलाई बढी नै काखी च्यापेर उक्त वडाका अन्य प्राथमिकताका सडक योजनालाई पन्छाएर राउतको निजी घरसम्म जोडिने पक्की बाटो निर्माणका लागि बजेट विनियोजन गरेका थिए । यसको साथै थापा सूर्यविनायक नगरपालिकाको अन्तिम नगरसभामा वडा नम्बर ४ को वडा विभाजन प्रक्रियालाई सैद्धान्तिक रुपमा समेत छलफल गर्न नदिइ एकलौटी तबरले अगाडि बढेका थिए ।

उक्त बिषयमा सैद्धान्तिक रुपमा भन्दा पनि वडाका बारेमा दुईपक्षीय धारलाई विभाजन गर्न समेत भूमिका खेलेको भन्दै आसन्न स्थानीय तहको निर्वाचनमा मत माग्न आएमा उनको कडा विरोध गर्ने स्थानीयले बताउन थालेका छन् ।