काठमाडौं महानगरमा एमालेबाट निर्वाचित भएका वडाअध्यक्षहरु अहिले समाजवादीमा


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दल परिवर्तन गर्ने वा दल छाडेर स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या पनि बढ्दै गईरहेको देखिन्छ । जिल्लामा मात्र होइन राजधानीमा समेत यो अवस्था देखिएको हो । देशकै पहिलो महानगरपालिकाका रुपमा रहेको काठमाडौं महानगरपालिकामा लामो समयदेखि वडा अध्यक्षमा निर्वाचित भईरहेका र अहिले पनि निर्वाचित हुन सक्ने व्यक्तिलाई पार्टीले टिकट नदिएको भन्दै पार्टी नै त्याग गरेर स्वतन्त्र वा अन्य पार्टीबाट उम्मेदवारी दिनेहरु पनि देखिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपक केसीलाई अन्तिम समयमा आएर टिकट नदिएपछि उनी नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका तर्फबाट वडा नं. ३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै वडा नं. ४ मा पनि वडा अध्यक्ष पदका लागि दावेदार रहेको ध्रुव त्रिपाठीलाई एमाले पार्टीले टिकट नदिएपछि उनी पनि समाजवादीबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।


काठमाडौंको मेयर र उपमेयर पदका लागि गठवन्धन दलहरुवीचको सहमतिमा उम्मेदवारी दिएको भएपनि वडा अध्यक्षका लागि भने गठवन्धन गरिएको देखिएको छैन । गठवन्धन दलका तर्फबाट आआफ्नै किसिमले उम्मेदवारी दर्ता गराएपनि मंगलबार र बुधबार भित्र गठवन्धन मिलाएर वडा अध्यक्षहरुमा पनि सहकार्य गर्ने गरी तयारी गरिएको देखिन्छ ।