विवाहमा कुटपिटबाट एक युवकको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका ४ पंसेराका २५ वर्षीय सन्तलाल पासवान रहेका छन् । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर पासवानलाई कुटपिट गरेको हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा २ दिन अगाडि राति जन्ती आएको थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए ।

विहेमा जन्तीलाई रोक्न खोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ । सो क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न भनि सम्झाइबुझाइ गर्न खोजिरहेको बेला युवाको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेको उनको बुबा रामअषिश पासवानले बताएका छन् । बिहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास तत्माले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाईसमेत लिएर गैर दलित युवाले आफ्नो छोरामाथि आक्रोश पोखेको उनको आरोप छ ।

पासवानलाई कुटपिट गर्ने विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीले रहेको मृतकका बुबाको आरोप छ । उनको विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएका छन् ।