क्युआर कोर्डमाबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा क्युआर कोर्डबाटै ट्राफिक जरिवाना तिर्न सकिने छ । उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकहरुलाई सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्टको सुविधा हुने भएको छ ।

कुमारी बैङ्क लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैङ्कका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरेको छ । बैङ्किङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताएका छन् । उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको प्रमुख जोशीको भनाइ रहेको छ ।