बिहीबार अपरान्हदेखि इटालीका आरोही सम्पर्कविहीन

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका क्रममा इटालीका एक नागारीक सम्पर्कविहीन भएको छ । बिहीबार अपरान्हदेखि इटालीका आरोही जिअम्पाओलो कोरोना सम्पर्कविहीन भएको हो । हिमाल आरोहण गर्न ७ हजार ४ सय मिटरको चौथो क्याम्प नजिकबाट उनी सम्पर्क विहीन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिइएका छन् ।

१४ घण्टा अघिदेखि सम्पर्कविहीन रहेका अल्पानिष्ट आरोही जिअम्पाओलो कोरोनाको खोजीका लागि हेलिकप्टर पठाउने तयारी गरेको शेर्पाले जानकारी दिएका छन् । हेलिकप्टरले खोजी कार्य गर्ने र फेला पारेमा लङलाइन डोरीको माध्यमले झुण्ड्याएर ल्याउने रेस्क्यु गर्ने गरी कैलास हेलिकप्टरको टोली पठाउने तयारी गरेको उनले बताएका छन् ।

इटालीका प्रख्यात आरोही जिअम्पाओलो कोरोनाले पाकिस्तान र नेपालका गरी ९ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गरिसकेका थिए । सेभेन समिट ट्रेक्सबाट आरोहण अनुमति लिएर जिअम्पाओलो विना गाइड आरोहणका लागि चुचुरोतर्फ गएको कम्पनीले बताएको छ ।