निर्वाचनमा ठूला राजनीतिक दलहरुबाटै व्यापक रुपमा आचारसंहिता उल्लङ्घन

काठमाडौँ । भक्तपुरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलहरुबाटै व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको निर्वाचनबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा यस्तो बताइएको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै उनले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताए । उनले भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिइ भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौँ, यहीँ बीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका र्छौ । सम्मान र पुरस्कार वितरणजस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौँ, निर्वाचन आचारसंहिता विपरीत दलको गतिविधि समेतलाई रोक लगाउँदै आएका छौँ ।

भक्तपुरका महानगरीय प्रहरी परिसर उपरीक्षक शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लङ्घन भइरहेको जानकारी दिइएका छन् । १९ वटा ठाउँबाट आचारसंहिता उल्लङ्घन गरी राखिएको दलहरुको प्रचार सामग्री हटाएको समेत बताए । जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनीधिले भक्तपुरमा निर्वाचन आचारसंहित विपरीतका काम भइरहेको बताउदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न सुरु गरेको बताए ।

निर्वाचनमा पार्टीका झण्डा, चुनाव चिन्ह, फ्लेक्सलगायतका प्रचार सामग्री १८/१९ ठाउँको प्रहरी उपरीक्षक श्रेष्ठले हटाएका बताए । उनले भने कतिपय ठाउँमा त्यस्ता चुनाव चिन्ह् राखेका दलका स्थानीय नेता कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छौँ । यस्ता सामग्री राखेर आचारसंहिता उलङ्घन गर्नेमा चुनाबमा रहेको मुख्य ६ दलकै रहेका छन् । प्रचार सामग्री हटाउन ठूला दलहरुले नै अटेर गर्ने गरेको उनको भनाइ छ । गाडीमा पार्टीको झण्डा र चुनाब चिन्ह्, ब्यानर राखेर जाने गरेको भन्दै उहाँले पार्टी आफैले आचारसंहिताको पालना गर्दै आफैले अनुगमन गर्नुपर्नेमा आफैले उलङ्घन गर्ने गरेको प्रहरी श्रेष्ठको गुनासो छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले विगतका निर्वाचन भन्दा कर्मचारी आधा कम तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताएका छन् । कर्मचारीले खानाको भरमा बिहान ७ बजेदेखि राति ७ बजेसम्म काम गर्नुपरेको उल्लेख गर्दै उनले कर्मचारीले फेरि अनुगमन पनि जानसक्ने अवस्था अहिले न्यून भएको बताए । उनले भने , हामी यहीँ बाटो ओहोरदोहोर गर्दा पनि अनुगमन गरिरहेकै हुन्छौँ, आचारसंहिता रोक्न सकदो प्रयास गरेका छौँ,

दलहरुले नै बनाएको आचारसंहिता पालना दलहरुले गर्नुपर्ने हो, राजनीतिक दल, पत्रकार, सचेत नागरिकले आचारसंहिता उल्लङ्घन भएको पाइए जानकारी गराउनुहोस्, हामी तत्काल रोक्छौँ, आवश्यक परे कारबाही गर्छौ । निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले सञ्चार माध्यम र सञ्चारकर्मीले मान्नुपर्ने निर्वाचन आचारसंहिताकाबारेमा जानकारी दिइएको छ ।