काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा

काठमाडौँ । हिजो सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम साँझ ७ बजेको अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल १ हजार १८० मत गणना गर्दा उनले ४०२ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन् । उनीले साहभन्दा ८३ मतले पछि परेका छन् । । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिइएकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छन् । सिंह साहभन्दा २०० मतले पछाडि परेकी छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।

अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिएका छन् । काठमाडौँ महानगरमा कूल ३ लाख २४२ मतदातामध्ये १ लाख ९० हजार १७० मत खसेको थियो ।