फूल माला र झिलीमिली बत्तीले चिटिक्क पारियो लुम्बिनी

काठमाडौँ । २५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा गरेका छन् । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् ।

बुद्धजयन्तीका कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिइएका छन् । उनका अनुसार मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ । मन्दिर आसपासका पुरातात्विक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइ मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको बताएका छन् ।

कोरोना महामारिका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोषले जानकारी गराएको छ । ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानार टाँसिएको छ । आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेषरुपमा सजाउने काम गरिएको छ ।

लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधासहितको सभाहल ४ वर्षमा पूरा भएको छ । सो सभाहलकोे प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्ने भएको छ । यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिइएका छन् ।

उनका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिने छ । जेठ दुई गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुने र जेठ ३ र ४ गते कपिलवस्तुको तिलौराकोटमा कार्यक्रम गर्ने भएको छ ।

बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउन सो कोषले १ करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताए । बौद्ध ग्रन्थका अनुसार इपू ६२३ को वैशाष पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनी उद्यान आइपुगेपछि सिद्धार्थ गौतमको जन्म भएको थियो ।