२५ सय ६६औँ बुद्धजयन्तीको अवसरमा जजिराले गौतमबुद्ध विमानस्थलमाबाट अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौँ । २५ सय ६६औँ बुद्धजयन्तीको अवसर पारेर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । न्यारोबडी जहाजले कुवेतबाट १७८ यात्रु बोकेर उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ ।

उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उनले बताएका छन् ।

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताएका छन् । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।