ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार घाइते

काठमाडौँ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । उक्त घटना फुङ्लिङ नगरपालिकामा भएको हो । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका ६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्याक्टर चारजना घाइते भएका हुन् ।

सुकेटारदेखि सदरमुकाम फुङ्लिङ बजारतर्फ जाँदै गरेको उक्त ट्याक्टर मङ्गलबार साँझ सडकदेखि करिव २० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा परी ट्याक्टरमा सवार फुङ्लिङ नगरपालिका ११ फावाखोलाका १८ वर्षीय प्रकाश बुढाथोकी, सोही वडाका २२ वर्षीय बिक्रम लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

सिरिजङ्घा गाउँपालिका ३ सिकैँचाका ६१ वर्षीय पूर्णहाङ लिम्बू र सिकैँचाकै २१ वर्षीय सिपन लिम्बू घाइते भएका छन् । दुर्घटनाका घाइते चारैजनाको अवस्था गम्भीर भएकाले उनीहरुलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

ट्रयाक्टरका चालक फुङ्लिङ नगरपालिका ११ फावाखोलाका २३ वर्षीय रत्नबहादुर लिम्बूलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।