गोरखाको पालुङटारमा मतपेटिकाको सिल चुँडिएको भेटिएपछि मतगणना स्थगित

काठमाडौँ । गोरखा जिल्लाको पालुङटार नगरपालिकाको मतगणना स्थगित गरेको छ। वडा नम्बर ६ को मतगणनाका क्रममा एउटा मतपेटीकाको सुरक्षण सिल चुँडिएको भेटिएपछि मतगणना कार्य स्थगित गरेको छ ।

निर्वाचन आयोगका एक पूर्व अधिकारीहरुका अनुसार चारमध्ये एउटा सिलमा त्रुटी भेटिँदैमा शंका गर्नु पर्ने कारण नरहेको बताएका छन् । उनले भने, सबै सिल चुस्त दुरुस्त हुन सकेको भए धेरै राम्रो हुन्थ्यो । तर चारमध्ये एउटा सिलमा समस्या हुँदैमा मतपेटिकामै गडबड भयो कि भन्ने आशंका गर्नु हुँदैन, चारवटै सिल काटेपछिमात्रै पेटिका खोल्न सकिन्छ ।’

जिल्लाका कतिपय मतदान अधिकृतहरुले यो पटक सुरक्षण सिल पहिलेको भन्दा अलि कमजोर रहेको बताएका छन् । मतपेटिकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुन्छ । त्यसमध्ये पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको मतगणनास्थलबाट दलका प्रतिनिधिहरुले बताएका छन् । निर्वाचन अधिकृतले यसबारेमा उम्मेद्वारहरुसँग छलफल गरिरहेको बताए ।