स्वास्थ्यकर्मीलाई कुटपिट गरेमा ३ वर्ष कैद

काठमाडौँ । स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा ३ वर्ष जेल वा ३ लाख जरिवानाको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मङ्गलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गरेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७९ मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा ३ वर्ष कैद वा ३ लाख जरिवानाको व्यवस्था गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ गते प्रमाणीकरण गरेको अध्यादेश मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेश गरेको हो । राष्ट्रपतिले जारी गरेको उक्त अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट गर्ने, स्वास्थ्य संस्थामा आगजनी गर्ने जस्ता गतिविधि हुनथालेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न सो कानुन ल्याएको छ ।

अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पु¥याए तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याउने काम गरेमा ३ वर्ष कैद वा ३ लाख जरिवाना गर्ने उल्लेख गरिएको छ । स्वास्थ्य संस्थामा आगजनी गरेमा २ वर्षदेखि ५ वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख जरिवाना अध्यादेशमा तोकिएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याएमा वा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरे १ वर्ष कैद वा १ लाख जरिवाना अध्यादेशमा उल्लेख गरिएको छ ।