मृतकको परिवारलाई मुद्दा दर्ता नगर्न दबाब

काठमाडौँ । शङ्कास्पद रूपमा ज्यान गुमाएका रास्कोट नगरपालिका ८ का प्रेम दर्जीको परिवारलाई कानुनी प्रक्रियामा नजान दबाब दिएको छ । मृतकका भाइ लाल दर्जीका अनुसार राज्य पक्षवाट मुद्दा दर्ता नगर्न दबाब आएको बताएका छन् । दाइ प्रेम सहभागी भोजको आयोजक रास्कोट नगरपालिका नवनिर्वाचित प्रमुख, उपप्रमुख छानबिनका लागि कानुनी प्रक्रियामा जाने भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता हजा सुनार, उपप्रमुख मनिराज वराल लगायतले फोन गरेर कहाँ कसरी मिलाउन सकिन्छ हामी क्षतिपूर्तिको व्यवस्थापन गर्न तयार छौं, तर मुद्दा दर्ता गर्ने प्रक्रियामा नजानु भनेर दबाब दिएको मृतकका भाइ लाल दर्जीले बताएका छन् ।

कसैको नाममा किटानी नदिनु भन्दै फोन गरेर दबाब दियो उनले भने । माओवादी नेता दलित अधिकारकर्की भैरे तिरुवा, गौरी दर्जी, हजा सुनार, नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बरालले पटक पटक फोन गरेर दबाब दिएको उनले बताए । शङ्कास्पद मृत्यु भएको घटनालाई शक्ति केन्द्रहरूको चलखेलका कारण दोषीलाई उन्मुक्ति दिन पोष्टमार्टम बिना शव गाड्न लगाउन खोजिएको आरोप परिवारले लगाएको छ ।

बेपत्ता भएपछि खोजी गर्दा दर्जीको शव नजिकै पाटेडीलको पानिगौंडा कुलोमा जेठ ७ गते साँझ ६ बजे भेटिएको थियो । शवलाई जेठ ८ गते बिहान पोष्टमार्टम गर्न रास्कोट सामुदायिक अस्पतालमा पठाए पनि पोष्टमार्टम नगरी अस्पतालले शव पठाएको थियो । परिवारको दबाबपछि घाटमै पुगेर स्वास्थ्यकर्मीले पोष्टमार्टम गरेका थिए ।

घाटमै पोष्टमार्टम नभएको शव मलामीले देखेपछि करिब ५ घन्टासम्म दाहसंस्कारको काम रोकिएको थियो । स्वास्थ्यकर्मीको टोलिले सोमवार बेलुका ४ः३० बजे तिर चिहानघाटमै पुगेर पोष्टमार्टम गरेको थियो ।

मृतक दर्जी जेठ ६ गते रास्कोट नगरपालिकाको प्रमुख र उपप्रमुखको विजयी भोजमा सहभागी हुन बयलपाटा हुँदै पाटेडील उपप्रमुखको घर पुगेका थिए । सोही राति दर्जी बेपत्ता भएका प्रहरीको अनुसन्धानमा खुलेको छ ।